
च्यावनप्रासको बट्टाभित्र प्याक गरिएको झण्डै २ क्विन्टल चरेस बरामद
File Photo
काठमाडौं – प्रहरीले चितवनको रत्ननगरबाट झण्डै दुई क्विन्टल लागुऔषध चरेश बरामद गरेको छ। पूर्वी चितवनको रत्ननगर–३, शान्तिचोकमा रहेको एउटै घरबाट प्रहरीले झण्डै २ क्विन्टल चरेस बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको अवस्थामा एक क्वीन्टल ८४ किलो तीन सय पचास ग्राम अबैध लागुऔषध चरेश बरामद भएको छ।
कसैले नचिनोस् भनेर च्यावनप्रासको बट्टामा शिल गरेर चरेश प्याक गरिएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
रत्ननगर–१५ माधवपुरमा बस्ने उद्धव अधिकारीले स्थानीयवासी विष्णु पन्तको घरलाई गोदामका रुपमा प्रयोग गर्दै च्यावनप्रासको बट्टामा पसलभित्र लागुऔषध भण्डारण गरेर राखेको पाइएको रानाले बताए।
चरेशसहित तीन जना समेत समातिएका छन्। प्रहरीले पक्राउ परेका मानिसहरुको नाम र ठेगाना खुलाएको छैन। उपरीक्षक रानाले भने, ‘अहिले हामी अन्य अभियुक्तको खोजीमा नै छौं। घटनाको थप अनुसन्धान भइरहेको छ। तसर्थ पक्राउ परेका मानिसहरुको नाम सार्वजनिक नगरेका हौं।’



कागजपत्र |
