‘टिमसहित कांग्रेस सभापतिमा उम्मेदवारी दिन्छु’


काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाकै अगाडि पार्टीको १४ औँ महाधिवेशनमा आफूले टिमसहित सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पटक–पटक सारिएको कांग्रेसको १४ औं महाधिवेशनको पछिल्लो मिति नजिकिँदै गर्दा सिटौलाले आफूले मात्र नभई समूह नै बनाएर उम्मेदवारी दिने निर्णय लिइसकेको बताएपछि देउवा सिटौलाको कुरा सुनिरहे।

जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृतिमा गरिएको कार्यक्रममा पार्टी सभापति देउवालाई साक्षी राख्दै सिटौलाले आफ्नो समूहको उम्मेदवारीबारे प्रष्ट्याएका हुन्।

१३ औँ महाधिवेशनमा पनि सभापति पदमा उम्मेदवार दिएका सिटौलाले पहिलो चरणबाटै बाहिरिएपछि दोस्रो चरणमा देउवालाई सघाएका थिए। तर, सिटौलापछि बोलेका देउवाले भने केही भनेनन्।

पछिल्ला दिनमा देउवासँगै निकट देखिएका नेता सिटौलाले आउँदो कार्यकालका लागि पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

कार्यक्रममा सिटौलाले गणेशमानको आदर्शलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया