

बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सिन्हालाई ११ वर्षको जेल सजाय

एजेन्सी – बङ्गलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा लाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।
पूर्व प्रधानन्यायाधीश सिन्हालाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
सिन्हा बङ्गलादेशको अल्पसङ्ख्यक हिन्दु समुदायबाट देशको पहिलो प्रधानन्यायाधीश बनेका थिए ।
सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी छुट्टाछुट्टै अभियोगमा उनलाई ११ वर्ष जेल सजाय सुनाइएको हो । उनले यी दुई मुद्दाको अलग अलग सजाय भोग्नु पर्नेछ ।
राजधानी ढाकाको विशेष अदालतका न्यायाधीश शेख नजमुल अलामले मंगलबार सिन्ह्वालाई सम्पत्ति शुद्धीकरण अभियोगमा सात वर्ष र ठगी अभियोगमा चार वर्ष सजाय सुनाएका थिए । सिन्हा हाल क्यानडामा बस्छन् ।
७० वर्षीय सिन्हाले अन्य सात जनासँग मिलेर नक्कली कागजात प्रयोग गरेर एउटा बैङ्कबाट चार करोड टाका रकम हिनामिना गरेको अदालतको ठहर छ ।
अदालतले दोषी ठहर गरेका अन्य आठ जनालाई पनि फरक फरक सजाय तोकिएको छ । यसअघि जनबरीमा ढाकाको एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सिन्हा सन् २०१५ को जनबरीमा बङ्गलादेशको सर्वोच्च अदालतको २१औँ प्रधानन्यायाधीश भएका थिए ।
सन् २०१६ मा बिदा लिएर अमेरिका गएका सिन्हाले उतैबाट राजीनामा दिएका थिए । उनले सन् २०१७ को नोभेम्बरमा राजीनामा दिएका थिए । विदेशमा रहँदा उनले लेखेको पुस्तक ‘अ ब्रोकन ड्रिम’ विवादमा तानिएको थियो ।

