विराटनगर कारागारमा झडपः चौकीदार, नाइके र भाइ नाइकेलाई कैदीबन्दीले थुनिदिए


काठमाडौ. – मोरङको विराटनगर कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै दुई पक्षबीच झडप भएको छ। झडपको क्रममा ६ जना कैदीबन्दी घाइते भएका छन्।

मंगलबार बिहान भएको दोहोरो झडपमा चौकीदार गुरुङ र नाइकेहरू शेखर राई, निर्मल ढकाल, विशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता घाइते भएका हुन्।

कारागारमा मंगलबार बिहान झडप भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले पुष्टि गरे। घाइते ६ जनालाई नै उपचारका लागि कोशी अस्पताल पठाइएको उनले बताए।

चौकीदार गुरूङको अत्याचार सहन नसकेपछि कैदीबन्दीहरु आपसमा विवादमा उत्रिएर झडपको स्थिति सिर्जना भएको बताइएको छ। गुरुङको निर्देशनमा नाइके र भाइ नाइकेहरूले यातना दिएको आरोप छ ।

झडपको क्रममा कैदीबन्दीले गुरुङसहित उनको समूहका १४ जना नाइके र भाइ नाइकेहरूलाई जेलभित्रैको एउटा कोठामा समेत थुनिदिएका थिए।

थुनिएका कैदीहरूलाई प्रहरीले काराागारबाट बाहिर निकालेर सुरक्षाका लागि राखेको छ। अहिले कारगारको माहोल शान्त रहेको जेलर पोखरेलले जानकारी दिए।

१४ जनाको हकमा भित्र बस्ने वातावरण नहुने भएपछि उनीहरूलाई अन्यन्त्र कारागारमा सरुवा गरी पठाउने तयारी भएको छ। ‘तत्कालै उनीहरुलाई कुन कारागारमा पठाउने निर्णय भने भइसकेको छैन,’ उनले भने

प्रतिक्रिया