कांग्रेस गर्जँदा भरतपुरकी मेयर रेणु दाहाल तर्सिनुको अर्थ


चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेकपा माओवादीको एउटा कार्यक्रममा आफूले काम गरेको देखेर अरु अत्तालिएको बताइन्।

उनले चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूलाई लखेट्नेबारे दिएको अभिव्यक्तिको कटाक्ष गरिन्।

उनले भनिन्,‘विकासको लहरको काम गरिएको छ, चुनावदेखि चुनावसम्म मात्र पुग्नेहरुले लखेट्ने कुरा गरेका छन्। हामी विकासको काम गरेर त्यसको उत्तर दिन्छौं।’

दाहालको अभिव्यक्तिमा आगामी चुनावमा माओवादीलाई लखेट्ने कांग्रेसको रणनीति बन्ने त्रसित भाव थियो।

आखिर मेयर दाहाल किन डराइन्?

उनी आगामी स्थानीय तहको चुनावमा पनि एक पटक कांग्रेससँगको सहकार्यमा मेयर बन्ने तयारीमा छिन्। यसैले महानगरका सबै कार्यक्रममा आफू र बुवा प्रचण्डलाई निक्कै अभ्यस्त बनाइरहेकी छन्।

‘फेरि मेयरमा चुनावी मैदानमा उत्रिने र प्रचण्डको पनि राजनीतिक ग्राफ बलियो बनाउने उनको अभ्यास छ। तर, कांग्रेसको सहयोगबिना सम्भव हुने देखिँदैन’, एक जना कांग्रेस नेता भन्छन्,‘तर कांग्रेस एक्लै मैदानमा उत्रिने देखिएपछि माओवादीको जमानत नै जफत हुने विषयले तर्सिएकी छन्।’

भरतपुरमा माओवादीसँग एमालेले कुनै पनि हालतमा सहकार्य नगर्ने र कांग्रेस एक्लै मैदानमा उत्रिने भएपछि अघिल्लो पटकको जस्तो जीत निकाल्न कठिन हुने विषयमा मेयर दाहाल जानकार छिन्।

केन्द्रमा कांग्रेसले जस्तोसुकै समीकरण बनाए पनि चितवन कांग्रेसमा सभापति श्रेष्ठ कुनै पनि हालतमा गठबन्धनमा नजानेमा छन्। उनले भनेका छन्,‘हामी रुख भन्दा बाहेक अरुमा मत हाल्दैनौं, त्यस्तो कुरा आए विद्रोह हुन्छ।’

श्रेष्ठ कांग्रेसका प्रभावशाली जिल्ला सभापतिका रुपमा चिनिएका छन्। अघिल्लो पटक माओवादीलाई मेयरमा जिताएर गल्ती गरिसकेको श्रेष्ठको बुझाई छ।

प्रतिक्रिया