गोरखा फुजेलकी किशोरी झुण्डिएको अवस्थामा मृत भेटिइन्, हत्याको आशंका


काठमाडौं – गोरखा फुजेलकी एक किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएकी छन्। गोरखा गण्डकी गाउँपालिका–४ फुजेलकी १९ वर्षीया अन्जना पाण्डे मृत अवस्थामा भेटिएकी हुन्।

काठमाडौं महानगरपालिकास्थित कलंकीमा आफ्नो दाईसँग बस्दै आएकी अन्जना बुधबार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी प्रहरीले जनाएको छ। अन्जनाको मृत्यु शंकास्पद रहेको परिवारले जनाएको छ।

दाई दिदीको घर गएको बेला अन्जना मृत भेटिएकी हुन्। यद्यपी, परिवारले पोष्टमार्टम गरी शव बुझेर आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरेका छन्। पोष्टमार्टम रिपोर्ट भने आइनसकेको प्रहरीले जनाएको छ।

अन्जनालाई कसैले मारेर कोठामा ल्याएर झुड्याएको हुनसक्ने प्रहरीको अनुमान छ। झ्यालमा राख्ने पर्दाको डण्डीमा झुण्डिएकी अन्जनाको दुवै खुट्टाको घुँडाले खाटमा छोइएको छ। त्यसैले अन्जनाको हत्या भएको हुनसक्ने अनुमान छ।

यद्यपी यी विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर, कालीमाटीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अपिल बोहोराले जानकारी दिए। ‘अहिले नै केही भन्नसक्ने अवस्था छैन, पोष्टमार्टम रिपोर्ट के आउँछ हेरौं,’ उनले भने।

प्रतिक्रिया