आरजुका पिएको हालीमुहालीले गृहमन्त्री–आईजी सम्बन्ध चिसियो


काठमाडौं – प्रहरी प्रधान कार्यालयले गत असोज पहिलो साता प्रहरी निरीक्षक (इन्स्पेक्टर) यनबहादुर मल्लको ‘सिंगल’ काज सरुवा निकाल्यो। मल्लको सरुवापछि प्रहरीभित्रै हंगामा भयो।

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाका स्वकीय सचिव (पिए) प्रकाश देउवामार्फत मल्लले आफ्नो सरुवा निकाले। प्रकाश देउवाले सिधै प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षत्रीलाई फोन गरेर मल्ललाई बाँके पठाउन भनेका थिए।

गृहमन्त्री बालकृष्ण खाँणलाई जानकारी बिना नै उक्त सरुवा भयो। ६ ठाउँमा इन्चार्ज बसिसकेका मल्लबारे धेरै गुनासो आएपछि गृहमन्त्री खाँणले यस विषयमा चासो राखे। र, आईजी क्षत्रीलाई फोन गरे।

फोनमा गृहमन्त्री खाँणले आईजीलाई झपार्दै मल्लको सरुवा रोक्न निर्देशन दिए। त्यसपछि आईजीले मल्लको सरुवा रोके। गृहमन्त्रीले थर्काएपछि आईजीले प्रकाश देउवालाई फोन गरेर तत्काललाई सरुवा नहुने बताएका थिए।

काज सरुवा रोकिए पनि केही समयपछि मल्ल बाँकेमा हाजिर भएका छन्। अहिले मल्ल जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख छन्। मल्लअघि बाँके ट्राफिक प्रमुख थिए, इन्स्पेक्टर राजु भण्डारी।

शक्ति केन्द्रको आडमा कास्की ट्राफिकदेखि नेपालगञ्ज वडा प्रहरी कार्यालयलगायतका ठाउँको इन्चार्ज भइसकेका इन्स्पेक्टर मल्ल विवादित व्यक्ति हुन्।

यो एउटा उदाहरण मात्र हो। यस्ता कयौं परिघटना सतहमा आउन थालेका छन्।

आइतबार मात्रै प्रहरी प्रधान कार्यालयले दुई जना प्रहरी उपरक्षिक (एसपी) र ४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा निकाल्यो।

काठमाडौं उपत्यकाको आकर्षक मानिने महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा डीएसपी विश्वराज खड्काको सरुवा भएको छ। डीएसपी खड्कालाई दरबारमार्ग पठाउन उनै प्रकाश देउवाको हात रहेको उच्च स्रोतले जनाएको छ।

प्रकाश देउवा र हेमन्त धामी बालुवाटारस्थित होटल ओपेराका सञ्चालक समेत हुन्। उनीहरुको डिजाइनमा डीएसपी खड्कालाई दरबारमार्ग पठाइएको स्रोतले बतायो। डीएसपी खड्का स्वयम् आफैं विवादित पात्र हुन्।

यसअघि महानगरीय प्रहरी वृत्त, बालाजुको इन्चार्ज भइसकेका डीएसपी खड्कामाथि धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको अभियोग लागेको थियो।

प्रकाश देउवालाई उक्त विषयमा जानकारी भए पनि सत्ताको आडमा प्रहरी प्रधान कार्यालयलाई दबाब दिएर खड्कालाई ‘लेनदेन’का आधारमा दरबारमार्ग इञ्चार्ज बनाएको बताइन्छ।

त्यतिमात्र होइन, प्रकाशले डीएसपी खड्कालाई शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै पिएसओको रुपमा पठाउन खोजेका थिए। देउवाले नमानेपछि खड्का प्रधानमन्त्रीको पिएसओ हुनबाट बञ्चित भएका थिए।

प्रधानमन्त्री पत्नी आरजुको पिए रहेका प्रकाश र हेमन्त धामीलाई भेट्न प्रहरीहरु दिन दिनै सोही ओपेरा होटलमा पुग्छन्। स्रोतका अनुसार होटल ओपेरामा आफूलाई भनेको ठाउँमा इन्चार्ज पठाइदिन भन्दै उनीहरुलाई भेट्ने प्रहरी अधिकृतको लाम नै हुने गरेको छ।

प्रधानमन्त्री देउवालाई जानकारी बिना नै प्रकाश र हेमन्तले उक्त काम गरिरहेको बताइन्छ। बालुवाटर र गृह मन्त्रालयलाई गुमराहमा राखेर प्रकाश र हेमन्तले प्रहरीको सरुवा बढुवामा हस्तक्षेप गर्दै आएका छन्। यसरी प्रकाशले आरजुमार्फत प्रहरी संगठनभित्र हस्तक्षेप गर्न थालेपछि गृहमन्त्री खाँण असन्तुष्ट भएको बताइन्छ।

आफूलाई जानकारी नदिई प्रहरी भित्रभित्रै सेटिङमा सरुवा बढुवा हुन थालेपछि गृहमन्त्री खाँण र आईजीपी क्षत्रीबीच पछिल्लो पटक सम्बन्ध राम्रो नभएको बताइन्छ। उनीहरुको कारण लामो समयदेखि संगठनमा हुनुपर्ने नियमित सरुवा पनि रोकिइरहेको छ।

प्रहरीको सरुवा–बढुवा गृहमन्त्रालयले गर्नुपर्ने व्यवस्था रहेपनि बालुवाटार र प्रधानमन्त्रीपत्नी आरजुमार्फत प्रकाश देउवा हाबी हुँदा संगठन नै अस्तव्यस्त बनेको आरोप छ।

प्रतिक्रिया