

गृहमन्त्री खाँणका भाई रिझाउन नसक्दा उत्कृष्ट डीएसपीको सरुवा

काठमाडौं – जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले ६ कात्तिकमा एक कार्यक्रमका बीच प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरलाई असोज महिनामा जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै पुरस्कृत गर्यो। उनलाई रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेका थिए।
डीएसपी कुँवर इलाका प्रहरी कार्यालय, बुटवलका इन्चार्ज थिए। तर, पुरस्कृत भएको २ दिनमै डिएसपी कुँवरको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार ४ जना डीएसपीको काज सरुवा निकालेको छ।
जसमा डीएसपी कुँवरको पनि सरुवा भएको हो। उत्कृष्ट प्रहरी भन्दै पुरस्कृत भएका डिएसपी कुँवरको प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमा सरुवा भएको छ। प्रहरी नियमावली २०७१ अनुसार जिम्मेवारी सम्हालेको १ वर्ष नपुगी सामान्यतया सरुवा नगर्ने उल्लेख छ। तर, कुँवर भने जिम्मेवारी सम्हालेको ४ महिनामै सरुवा भएका हुन्। गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा कुँवरको सरुवा भएको चर्चा छ।
कुँवरको ठाउँमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय बेलचौतारा तनहुँमा कार्यरत डीएसपी ठगबहादुर केसीको सरुवा भएको छ। केसी गृहमन्त्री खाण निकट रहेको बताइन्छ। सरकार फेरिएलगत्तै केसीले बुटवलमा जान लविङ गर्दै आएका थिए। डीएसपी कुँवरले गृहमन्त्री बालकृष्ण खाँणका भाई रूपन्देहीका कांग्रेस नेता रामकृष्ण खाँणलाई रिझाउन नसकेका कारण सरूवा भएको चर्चा छ।
कुँवरले मोतिपुर घटनामा ४ जनाको मृत्यु र तिलोत्तमामा खाँणकै छिमेकी सीता भण्डारीको मृत्यु प्रकरणमा ४५ दिन शव नउठाई आन्दोलन गर्न दिएर गृहमन्त्रीलाई धेरै आलोचित बनाएको र मोतिपुर जग्गा कब्जामा नाम जोडिएका कांग्रेस नेताहरू पक्राउ गर्न भूमिका खेलेको कांग्रेस कार्यकर्ताले गृहमन्त्रीसँग गुनासो गरेका थिए।

