बालबालिकालाई अप्राकृतिक मैथुन गराउने विदेशी नागरिक पक्राउ
कास्की – प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ।
पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।
नाबालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ।
अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको प्रनाउ हमालले बताए।
उनको साथबाट ल्याप्टप एक थान, मोबाइल एक थान, राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु फेला पारिएको जनाइएको छ।