जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ


घोराही – जिल्ला प्रहरी कार्यालय दाङले जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी ३४ वर्षीय धन बहादुर वली पक्राउ परेका हुन्।

वलीलाई बिहिबार अन्दाजी साढे १ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

प्रवक्ता रिजालले दिएको जानकारी अनुसार उनलाई पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालतमा आज नै बुझाएको छ। वलीलाई दाङ देउखुरी जिल्ला अदालतले २ कात्तिक २०६० मा ७ वर्ष ११ महिना ८ दिन कैद सजायको फैसला गरेको थियो।

यसैबीच दाङ प्रहरीले लेनदेन मुद्धामा फरार एक महिलालाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ की ३७ बर्षीया मेनुका कार्की रहेको प्रहरीले जानकारी दिएको छ।

२०७३ साल साउन २३ गते दाङ देउखुरी जिल्ला अदालतले कार्कीलाई लेनदेन मुद्धामा एक बर्ष कैद सजाए तोकेको थियो। अदालतको फैसला पछि फरार रहेकी कार्कीलाई लुकिछिपी बसेको अवस्थामा घोराही १४ बाट पक्राउ गरेको रिजालले जानकारी दिए।

गएको असोज ३० गते पक्राउ गरेको कार्कीलाई बिहीबार दाङ देउखुरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया