

सिडिओ र एसपीद्वय नै जुवाखालमा (भिडिओ)

काठमाडौं – दसैंतिहार जस्ता ठूला चाडबाडका बेला जुवातास खेल्नेहरुको संख्यामा हुने गरेको वृद्धि नियन्त्रण गर्ने प्रहरीको प्रयास जनचेतनाको अभाव र फितलो कानूनी व्यवस्थाका कारण प्रभावकारी हुन नसकेको सम्बद्ध निकायहरुले जनाएका छन्।
यसपालिको चाडमा जुवातासको खालबाट सयौं जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार चाडबाडमा रमाइलोको लागि जुवातास खेल्नेहरुको संख्या धेरै छ। तर यति नै बेला व्यावसायीक रुपमा जुवा खेल्नेहरुले निकै ठूलो रकमको दाउ खेल्ने देखिएकोले त्यसले विकृति र अपराध जन्माउने गरेको छ।
चाडबाडका बेला जुवातास खेल्नुलाई नेपालको कतिपय ठाँउमा परम्पराको रुपमा लिइने हुनाले यसमा आकर्षित हुनेहरुको संख्यामा वृद्धि भएको बताउनेहरु पनि छन्।
तर, सर्लाहीमा भने यसपटक फरक दृश्य देख्न पाइएको छ। शान्तिसुरक्षा कायम राख्ने जिम्मेवारी पाएका अधिकारीहरु नै जुवा तास खेल्दै बसेको पाइएको छ।
विशेष स्रोतबाट प्राप्त भिडियोमा देखाइए अनुसार सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकुमार महतो, नेपाल प्रहरीका प्रहरी उपरक्षिक (एसपी) सन्तोष सिंह राठौर र सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठ एकै खालमा बसेका छन्।
‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो’ ब्याक ग्राउण्ड गित बजाएर प्रमुख जिल्ला अधिकारी रामकुमार महतो तास बाँड्दै गरेको देख्न सकिन्छ। प्रमुख जिल्ला अधिकारी जिल्लाभित्र जुवा मुद्दा अन्तर्गत कारवाही गर्ने मुद्दाको फैसला गर्ने अधिकारी हुन्।
दाहिने कुनामा हाफ पिकं कलरको सर्ट लगाउने व्यक्ति एसपी सन्तोष सिंह राठौर हुन् भने कपाल नभएका व्यक्ति एसपी गंगाराम श्रेष्ठ हुन्। उनीहरुले तास खेल्दै गरेको भिडियो स्थानीय जनताले खेतबाट खिचेका थिए। रक्षक नै भक्षक भएको भन्दै स्थानीय जनताले तिनै जनालाई कारबाहीको माग गरेका छन्।
यसबारे सिडिओ महतोसँग बुझ्दा आफुले तास नखेलेको बताए। उनले भने, ‘मैले कतै तास खेलेको छैन। मलाई केही पनि थाहा छैन। भिडियो भए पठाउनुस् म हेछु,’ उनले भने।
कानूनमा सजायको व्यवस्था निकै फितलो भएकोले पनि जुवा खेल्नेहरु हतोत्साही नहुने गरेको प्रहरीको अनुभव छ। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।
तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ। उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवानाको व्यवस्था छ।
दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ।
जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।
दसैं र तिहार जस्ता ठूला चाडबाड बाहेक नेपालका गाँउघरमा अन्य बेलामा जुवा खेल्नेहरुको संख्या बढी रहेको तर शहरमा भने होटल वा अखडामा ठूलो रकममा जुवा खेल्नेहरु रहेको देखिन्छ।
यद्यपी प्रहरीले जुवातास खेल्नेहरुको अवस्था र त्यसको नियन्त्रणको बारेमा अझैसम्म कुनै अध्ययन अनुसन्धान नगरेकोले वास्तविकता थाहा पाउन नसकिएको बताइएको छ।

