राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त


काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाल बर्खास्तमा परेका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकले सिलवाललाई बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको युवा तथा खेलकुद मन्त्री महेश्वर गहराजले जानकारी दिए। मन्त्री गहतराजले सिलवालको कामप्रति सरकार सन्तुष्ट हुन नसकेका कारण बर्खास्त गरेको बताएका छन्।

सिलवाल २०७६ असार २३ मा पहिलोपटक राखेप सदस्य सचिव नियुक्त भएका थिए। राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले १२ साउन २०७७ मा पुनः नियुक्त गरेको थियो।

सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका हैसियतमा विदेश यात्रामा रहेका छन्। राष्ट्रिय फुटबल टोली सहभागी साफ च्याम्पियनसिपको फाइनल हेर्न सिलवाल असोज २९ गते अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङसँगै माल्दिभ्स पुगेका थिए।

फुटबल टोलीले भने आज बिहानै स्वदेश आइपुगिसकेको छ। सिलवालको हवाई टिकट अनुसार आज राती ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेछन्। स्वदेश फर्कदा भने उनको पद नै नरहने भएको छ।

मन्त्री परिषदबाट नियुक्त हुने पहिलो सदस्य सचिव बनेका सिलवालको पदावधि ४ वर्ष भएपछि झन्डै ३ वर्ष समय बाँकी रहँदै बर्खास्तमा परेका हुन्। नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहने सिफरिस समितिले एक महिलासहित ३ जना नाम मन्त्री परिषद्लाई सिफारिस गर्नेछ।

खेलकुद ऐनमा राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ। जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ।

प्रतिक्रिया