

३६५ दिन मात्रै बितायौं, सीमाहिन माइलको यात्रामा छौं

कठिन मोडमा १ कात्तिक, ०७७ देखि औपचारिक सूचना र समाचारीय डिजिटल यात्राको थालनी गरेका थियौं। ठ्याक्कै ३६५ दिन बित्यो। सीमाहिन माइलको यात्रा गर्नुछ।
कोभिड–१९ को जोखिम अझै पनि सकिएको छैन। विश्व आक्रान्त पारिरहेको यो अवस्थालाई छिचोल्दै कतिपय मिडियाकर्मीलगायत आम मानिसको मृत्युका खबर एक बर्षमा दिनुपर्दा त्यसमा भावुकता पनि मिसिएका छन्। अकालमा ज्यान गुमाउने ति तमाम आत्मालाई श्रद्धासुमन भन्न चहान्छौं।
सातै प्रदेशको पहरेदारका रुपमा हामी मिडियाको समूहमा सामूहिक यात्रामा लम्किएका थियौं। दिनहरू बित्दै जाँदा कतिपय अवस्थामा हामीले पाठकलाई अन्याय गरेका छौं भन्ने लाग्दैन, तैपनि कुनै प्रकारको भुलचुक भएको भए बामे सरिरहेका थियौं भन्ने नै लाग्दछ।
प्रेस स्वतन्त्रता, बोल्न पाउने अधिकार, मानव अधिकार, बाँच्न पाउने अधिकारको निरन्तर वकलात गरिनै रहनेछौं, त्यसमा कुनै पनि प्रकारको सम्झौता नहुने स्पष्ट गराउन चहान्छौं।
संसारको सबैभन्दा शक्तिशाली शक्तिकेन्द्र मिडिया नै हो। मिडियासँग दोषीलाई निर्दोष र निर्दोषलाई दोषी कायम गर्न सक्ने क्षमता हुन्छ। मिडियाले आम मानिसको दिमागलाई नियन्त्रणमा राखेको हुन्छ
हाम्रो यात्राको थालनी हुँदा मुलुकमा राजनीतिक स्थिरताका लागि खबरदारी गरेका थियौं। तर लगत्तै दुई पटक प्रतिनिधि सभाको विघटन, दुवै पटक पुनःस्थापनादेखि सत्ता परिवर्तन र गठबन्धन सरकारसम्म बनिसक्यो। एक बर्षमा नागरिकको जीवनस्तरमा खासै परिवर्तन नआए पनि राजनीतिक अवस्था र प्रकृतिमा व्यापक हेरफेर भयो यो दुर्गतिको साँचीका रुपमा पनि हामी सक्रिय रहनु परेको थियो।
भनिन्छ, ‘संसारको सबैभन्दा शक्तिशाली शक्तिकेन्द्र मिडिया नै हो। मिडियासँग दोषीलाई निर्दोष र निर्दोषलाई दोषी कायम गर्न सक्ने क्षमता हुन्छ। मिडियाले आम मानिसको दिमागलाई नियन्त्रणमा राखेको हुन्छ।’
यहि भनाईलाई हृदयमा राखी स्थिर राजनीतिक अवस्था र सुदृढ नेपाली लोकतन्त्रका लागि निरन्तर वकालत र पैरवी गर्न हामी कहिँ कतै विश्राम लिने छैनौं, चुक्ने छैनौं।
हामी तथ्यलाई नजरअन्दाज नगरी सत्यको वकालतको यात्रामा निरन्तर अघि बढ्ने प्रणमा छौ। जोखिममा उदायौं, जोखिममा बामे सरेका छौं जोखिमको यात्रामा नै हुनेछौं। आरोह अवरोह आउने जाने नियमित प्रक्रिया हुन् तर यसमा साथ दिने र विश्वास गर्ने सबैभन्दा महत्वपूर्ण हाम्रा पाठक, विज्ञापनदाता, कर्मचारी र सहकर्मीप्रति आभार छौं। तपाईको खबरदारी नै हाम्रो विश्वसनियताको एकमात्र कसी हुनेछ, हामी निरन्तर यात्रामा रहनेछौं।
धन्यवाद!

