सभापतिमा देउवाबिरूद्ध मैदानमा उत्रिने घोषणा गरेका ५ नेताको कस्तो परिणाम होला? 


काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने र त्यसको विकल्प नरहेको दाबी गरेका छन्। सभापति बन्ने लक्ष्य पार्टीमा नयाँ पुस्ताको नेतृत्वलाई स्थापित गर्नु कोइरालाको भनाई थियो।

उनी भन्छन्,‘मैले सभापतिभन्दा अर्को पदमा उठ्ने लक्ष्य राखेको छैन, नयाँ पुस्ता र नेपाली कांग्रेसलाई गति दिनका लागि मेरो निर्विकल्प उम्मेदवारी हुनेछ।’

कांग्रेसका कतिपय भेलामा नै कोइरालाको यो दाबेदारीलाई अस्वभाविक मानिएको छैन। उनी एक जना सम्भावित उम्मेदवार हुनुको अर्थ १३ औं महाधिवेशनमा महामन्त्रीमा सानदार जीत निकाल्नुलाई पनि मानिएको छ।

अर्कोचाहिँ सहमतिमा नेतृत्व चयन गर्ने भन्दै कोइरालासमेत रहेको एउटा नयाँ समूहमा सभापतिका अर्का दुई दाबेदार विमलेन्द्र निधि र प्रकाशमान सिंह पनि छन्। निधिले सभापतिका लागि महाधिवेशनमा आफूलाई बलियो उम्मेदवार ठानेका छन् र सम्पर्क कार्यालय पनि खोलीसकेका छन्।

निधिले देउवासँग १३ औं महाधिवेशनमा भएको सहमतिअनुसार सभापतिमा आफूलाई सहयोग हुने अपेक्षा राखेका थिए तर त्यसो हुने अवस्था नआएपछि मैदानमा उत्रिने घोषणा गरेका थिए।

कांग्रेसको नेतृत्व सँधैभरी उपत्यका बाहिरबाट मात्र भएको भन्दै पूर्वमहामन्त्री सिंह मैदानमा छिरेका छन्। उनी भन्छन्,‘कुनै विरासतले होइन, मैले विभिन्न ठाउँमा बसेर संघर्ष गरेको छु, योगदानका आधारमा अब राजधानी बाहिरबाट होइन, भित्रबाटै सभापति बन्नुपर्छ। म उम्मेदवारी छाड्नेछैन।’

देउवा जसरी पनि सभापतिमा दोहोरिने पूरापूर तयारीअनुसार अगाडि बढेका छन्। उनीविरूद्ध मैदानमा बलियो रहेको ठान्दै केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापतिका लागि तयारीमा छन्। आन्तरिक रणनीतिमा रहेका उनको जिल्ला दौडको लक्ष्य पनि सोही रहेको थियो।

देउवाइतर समूहको नेतृत्व गरेका रामचन्द्र पौडेल मैदानमा हुने स्पष्ट छ। उनले आफूलाई तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालाले राष्ट्रपति बनाउन खोज्दा पनि नमानेको र कार्यकारी तथा पार्टी नेतृत्वको रुची राखेको पृष्ठभूमी केलाउन थालेका छन्।

उनले देउवाविरुद्धको शंखघोष गरिसकेका छन् र सत्ता राजनीतिको प्रभाव महाधिवेशनमा नपार्न पनि चेतावनी दिइसकेका छन्।

कस्तो होला परिणाम?

देउवा समूहको खास मानिएका निधि मैदानमा उत्रिँदा महाधिवेशन केही रोचक हुन सक्छ। तर, पौडेल समूहको मानिएका कोइराला दाजुभाई र सिंह मैदानमा उत्रिएको खण्डमा परिणाम बलियो हुने अवस्था नरहने बताइन्छ।

पौडेल समूहका एक नेता भन्छन्,‘देउवालाई कांग्रेस नेतृत्वबाट हटाउने हो भने उनीइतर समूहको साझा उम्मेदवार हुनुपर्छ, अन्यथा परिणाम गतिलो हुनेछैन।’

देउवालाई धक्का लगाउन सक्ने निधिको उम्मेदवारी मात्र मानिन्छ। तर, निधिबाहेक देउवासँग तत्कालिन लोकतान्त्रिक फोरमको नेतृत्व गरेका विजयकुमार गच्छादार र राप्रपाबाट आएका सुनिलबहादुर थापाको समूहको साथ छ।

‘देउवाविरुद्धको सभापति तयार पार्नका लागि निधिको साथसहित इतर समूहको साझा उम्मेदवार हुनुपर्छ, अन्यथा फरक फरक समूह बनाई महाधिवेशनको मैदानमा सबै उठे पहिलो चरणमा नै नेतृत्व गुम्न सक्ने हुन्छ’, कांग्रेस उच्च स्रोतले भन्यो।

यता तेस्रो धारको रुपमा उभिएका कृष्णप्रसाद सिटौलाले देउवालाई नै सहयोग गर्ने देखिन्छ। यसकारण पनि इतर समूहको परिणाम खासै अनुमानयोग्य हुन नसक्ने बताइन्छ।

प्रतिक्रिया