नेपाललाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिप


काठमाडौं – भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। शनिबार माल्दिभ्सको मालेस्थित नेसनल फुटबल स्टेडियममा भएको फाइनलमा नेपाललाई ३–० गोलले पराजित गर्दै साफ च्याम्पियन बनेको हो।

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २–० को अग्रता लिएको थियो। गोलरहित रहेको पहिलो हाफपछि भारतले दोस्रो हाफको सुरुवातमै लगातार २ गोल गरेको हो।

खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए। उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए। लगत्तै सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे।

त्यस्तै खेलको ९० औं मिनेटमा नेपाल आक्रामक भएको फाइदा उठाउँदै सहाल अब्दुलले सहजै गोल गर्दै भारतको सहज जित गरेका थिए। पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भयो।

भारत आठौं पटक साफ च्याम्पियन बनेको हो। २८ वर्षे लामो इतिहास भएको साफ च्याम्पिनसिपमा भारत सर्वाधिक सफल टोली हो। अघिल्ला १२ संस्करणमा भारतले ७ पटक उपाधि जितेको छ।

योसँगै अब्दुल्लाह अलमुताइरीको नेपालको मुख्य प्रशिक्षकका रुपमा अन्तिम खेलमा वियोगान्त अन्त्य भएको छ। यसअघि नै फाइनल खेल आफ्नो लागि अन्तिम हुने बताएका अलमुताइरी आजको खेलमा निलम्बनका कारण टचलाइनमा उपस्थित हुन पाएका थिएनन्।

प्रतिक्रिया