इनारभित्र मृत भेटिए युवक


काठमाडौँ – सिरहामा इनारभित्र एक युवकको शव भेटिएको छ। सिरहाको नरहा गाउँपालिका–३ मा रहेको इनारभित्र २० वर्षीय शत्रुधन महतोको शव आज बिहान फेला परेको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मृतक महतो गोलबजार नगरपालिका– ८ का हुन्। महतोलाई इनारभित्र मृत देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

खबरलगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले महतोको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाएको जनाइएको छ।

ती युवक हिजो शुक्रबार नजिकैको स्थानमा झिझिया नाच हेर्न गएका थिए। तर उनी कसरी इनारभित्र खसे भन्ने पत्ता लाग्न सकेको छैन।

सायद भीडभाडका क्रममा इनारभित्र खसेको हुनसक्छ। तर नाच हेर्ने क्रममा केही युवकबीच झगडा समेत भएको बुझिएको छ। अरु दुई जना पनि इनारभित्र खसेको भन्ने जानकारी समेत आएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया