अलमुताइरीको आक्रोशः ‘साफले अन्याय गर्‍यो’


काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दक्षिण एसिया फुटबल महासंघ (साफ) ले प्रतिबन्ध लगाउने निर्णय गरेपछि आक्रोश व्यक्त गरेका छन्।

प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरीले आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताए। उनले साफले आफ्नो नियमावलीविपरित फाइनल खेलका प्रतिबन्ध लगाएको बताए।

उनले भने, ‘साफले अन्याय गरेको छ। यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ। तर यो कारवाही म व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई हो, नेपाली फुटबलमाथि कारवाही भएको हो।’

उनले नियमावलीमै नभएको कारण देखाउँदै आफूलाई कारबाही गरेकोमा उनले दुःख पनि व्यक्त गरे। ‘मलाई निकै दुख लागेको छ। साफले मलाई किन निशानामा राखेको छ। मलाई त रंगशालामा नै प्रवेश गर्न पनि नदिने भनिएको थियो, तर मैले आफ्नो अधिकारको लागि आवाज उठाएँ। मलाई किन यस्तो व्यवहार गरिएको छ बुझ्न सकेको छैन,’ उनले थपे।

साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोर्ट्स (कास)मा समेत जाने उनले बताए। ‘यो निर्णय सही भएन। मुख्य खेल खेलाउने एउटा प्रशिक्षकको सपना चकनाचुर भयो’, उनले भने, ‘भारतका प्रशिक्षक प्रतिबन्धमा परेपछि मलाई पनि कारबाही गरिएको हो। यो सरासर अन्यायपूर्ण निर्णय हो।’

साफ च्याम्पियनसिपको उापधिका लागि नेपालले शनिबार राति भारतको सामना गर्दैछ। माल्दिभ्सको राजधानी मालेमा हुने फाइनल खेल राति ८ः४५ बजे सुरु हुनेछ।

प्रतिक्रिया