विस्फोटक पदार्थसहित लमजुङमा एक जना पक्राउ


लमजुङ – लमजुङ प्रहरीले विष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. ७ घर भई २२ वर्षदेखि लमजुङको बेंसीसहर वडा नं। ८ झिंगेखोला बस्दैआएका ६९ वर्षीय हरिराम बानियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झिंगेखोलामा जडिबुटीको पसल सञ्चालन गरी बस्ने बानियाले विष्फोटक पदार्थ बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

प्राप्त सूचनाको आधारमा शुक्रबार साँझ प्रहरी टोलीले छापा मार्दा पसलमा लुकाई छिपाई राखेको अवस्थामा बारुद बनाउने कच्चा पदार्थ गन्धक ४ किलोग्राम, सोडा १६ किलोग्राम साथै बारुद बनाउन प्रयोग हुने विभिन्न किसिमका पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

हरिराम बानियाविरुद्ध विष्फोटक पदार्थ सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको डीएसपी कृष्णबहादुर कार्कीले बताए । घटनाको विषयमा थप अनुसन्धान भैरहेको उनले बताए ।

प्रतिक्रिया