बस्तीमै पुगेर योजना सम्झौता


सुदुरपश्चिम–कोभिड—१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी धनगढी उपमहानगरपालिका कार्यालयले विकास योजना निर्माणका लागि सम्बन्धित टोल बस्तीमा नै पुगेर सम्झौता गर्न थालेको छ । कार्यालयको प्राविधिक र योजना शाखाका कर्मचारीको टोली बस्तीमै पुगेर निर्माण गरिने संरचनाको सम्बन्धित उपभोक्ता समितिसँग सम्झौता गर्न थालेको हो ।

उपभोक्ता समितिका पदाधिकारीसँग विस्तृतरुपमा छलफल र अध्ययन गरी सम्बन्धित बस्ती र टोलमा नै योजनाको सम्झौता गर्न थालिएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । ‘कोरोना भाइरस जोखिमको अहिलेको समयमा सर्वसाधारणलाई उप–महानगरपालिका कार्यालयमा पुगेर योजनाको सम्झौता गर्न समस्या भइरहेको थियो’, उनले भने, ‘टोल बस्तीमै पुगेर उपभोक्ता समितिसंँग सम्झौता गर्दा नगरवासीको चाहना पूरा हुने र कोरोनाको जोखिम घटाउन मद्दत पुग्ने विश्वास गरेका छौँ ।’

उपमहानगरपालिकाको कर्मचारीको टोलीले आफ्नो ठाउँमा नै पुगेर योजनाको सम्झौता गर्दा निकै सहज महसुस भएको स्थानीयको भनाइ छ । ‘योजनाको सम्झौता गर्न उपमहानगरपालिकाको कार्यालय धाउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ’, उपमहानगरपालिका–८का स्थानीय निर्मल खत्रीले भने, ‘नगरपालिकाको यस्तो कार्यले जनता खुशी भएका छन् ।’

बुधवार ८, ३ र १३ नं वडाका बस्तीमा पुगेर योजनाको सम्झौता गरिएको छ । यसअघि पनि विभिन्न बस्तीमा पुगेर योजनाको सम्झौता गरिएको थियो । कार्यालयका प्राविधिक कर्मचारी निर्मल देउवाले सबै वडामा वडातहमा नै सम्झौता गर्ने काम हुँदा उपभोक्ताले राहत महसुस गरेको बताए । कार्यालयले योजना स्थलमा योजनाको लागत इष्टिमेटलगायत विवरण झल्किने र सबैले बुझ्ने गरी अङ्ग्रेजी भाषाको सट्टा नेपालीमा ‘साइन बोर्ड‘ तयार पारेर राख्ने व्यवस्था पनि गर्न थालेको छ ।

(रासस)

प्रतिक्रिया