

यसरी ढल्दैछ इच्छाराज तामाङको व्यापारिक विरासत, सुधीर बस्नेत पथमा

काठमाडौं– व्यापारिक र बैंकिङ क्षेत्रमा कमाएको नामलाई पूर्वसांसद इच्छाराज तामाङले ठगी प्रकरणका कारण गुमाउन थालेका छन्। उनको व्यापारिक विरासत ढल्न थालेको छ, सुधीर बस्नेत पथमा।
सिभिल ग्रुपका अध्यक्ष तामाङलगायत १२ जनामाथि अनुसन्धान गर्न अदालतले प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।
पहिलो चरणको अनुसन्धानका लागि मंगलबार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई पाँच दिन थुनामा राख्ने अनुमति दिएको छ।
सिभिल सहकारीको ७० करोड रकम निक्षेप ठगी गरेको सय बढी उजुरीका आधारमा सीआईबीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ। दशैंअघि अनुसन्धान सकिन सम्भव नभएकाले फेरि म्याद थप हुने अनुमान गरिएको छ।
संगठित रूपमा ठगी गरेको आरोप छ। १३७ जनाले सीआईबीमा उजुरी दिएका छन्। यस्ता प्रकरणका मुद्दामा प्रहरीले २४ दिन हिरासतमा राखी अनुसन्धान गर्ने अधिकार छ।
तामाङ सिभिल सहकारीका पूर्वअध्यक्ष हुन्। सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठ छन्। उनी पनि पक्राउ परेका छन्।
भगवानबहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकरप्रसाद पाठक, संगीत श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजयविक्रम शाह र हरिहर लामिछानेमाथि पनि अनुसन्धान जारी छ।
सहकारीको रकम तामाङले अन्य आफ्ना कम्पनीहरूमा लगानी गर्दै आएका थिए। उनले करिब ९ अर्ब रुपैयाँ सहकारीको पैसा व्यापारिक प्रतिष्ठानमा लगानी गरेका छन्।
सुधीर बस्नेतको नजीर
तामाङको लगानी र व्यापारिक विरासत ओरालो लाग्ने निश्चित जस्तै देखिएको छ। उनी ओरेन्टियल फाइनाइन्स प्रकरणको अर्को संस्करण बन्न सक्ने अनुमान गरिएको छ। उक्त प्रकरणका कारण सुधीर बस्नेत जेल पुगेका थिए। उक्त फाइनाइन्समा पनि निक्षेपकर्ताको उजुरी थियो।
‘ठगीका यस्ता प्रकरण प्रहरीले राम्रोसँग अनुसन्धान गरेको र अदालतले सजाय तोकेको नजीर त बस्नेतकै छ’, एक प्रहरी अधिकारी भन्छन्,‘यस्ता आर्थिक क्षेत्रका मुद्दामा प्रायः प्रहरी अनुसन्धान सफल छन्।’
सिभिल सहकारीले तामाङलाई हिरासतमात्र नभई जेल नै पुराउने तथा उनका सिभिल ग्रुपका नाममा खुलेका अन्य व्यापारिक विरासतलाई पनि ढाल्न सक्ने बताइन्छ। ‘पब्लिकको पैसालाई व्यापारिक प्रयोजनका लागि मिलाएर चलाउने र ति व्यापार डुबेपछि जेलयात्रा भएका उदाहरण छन्’, स्रोतले भन्यो।

