
लफडाबीच पञ्चा सिंह अखिल क्रान्तिकारीकी अध्यक्ष, किन हिँडे फ्याक्सन इञ्चार्ज शाक्य?
काठमाडौं– विवादबीच पञ्चा सिंह नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष घोषणा भएकी छन्। उनलाई अध्यक्ष घोषणा गरी राष्ट्रिय सम्मेलन समापन भएको छ तर संगठनभित्र चर्को विवाद थाँती नै राखेर फ्याक्सन इञ्चार्ज हितमान शाक्य हिँडेको स्रोतले जनाएको छ।
सिंहलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अध्यक्ष बनाउनका लागि निर्देशन दिएका कारण शाक्यले घोषणा गरेका हुन्। अन्य पदाधिकारीको टुंगो लगाउने क्रममा विवाद भएको थियो। सोमबार दिउँसो भने महासचिवमा दिपेश पुनको नाम अनुमोदन भएको थियो।
तर, माओवादीभित्रको दुईधारको लफडाका कारण उनको नाम घोषणा नगरी शाक्य हिँडेको बताइएको छ। विद्यार्थी संगठनमा माओवादी नेता जनार्दन शर्मा र बर्षमान पुनको पक्ष रहेको छ। दिपेश पुनलाई संगठनमा सन्तुलन मिलाउनका लागि महासचिव प्रस्ताव गरिएको थियो तर शर्मा प्यानलले त्यसको विरोध गरेको थियो।
यता पुन पक्षका विद्यार्थी नेताले भने अध्यक्षमा सिंहलाई नै स्वीकार गर्न नसकिने भनेपछि सम्मेलन केन्द्रमा केही समय लफडा भएको थियो। ‘अध्यक्षमा सिंहलाई मान्न नसकिने विषय बाहिर आयो, विद्यार्थीको सम्मेलनमा सहभागीले नै आफ्नो अध्यक्ष छान्न पाउनुपर्छ भन्ने आवाज बलियो थियो’, स्रोतले भन्यो,‘तर प्रचण्डले नै तोकेको भनी हस्तक्षेप गरेर विवादकाबीच नाम घोषणा गरी फ्याक्सन इञ्चार्ज हिँडे, यो गलत भयो।’



कागजपत्र |
