

सर्लाहीमा मेयरका छोरा झुण्डिएको अवस्थामा भेटिए, अस्पताल पुर्याउनासाथ मृत्यु

काठमाडौं – सर्लाहीको मलंगवा नगरपालिकाका मेयरका छोरा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्। मेयर निर्शल साहका जेठा छोरा नन्दु साह आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
इलाका प्रहरी कार्यालयका बरथहवा, सर्लाहीका प्रमुख नायब उपरीक्षक (डिएसपी) उद्धव सिंह भाटका अनुसार नन्दु बरहथवा नगरपालिका–८ टाडीस्थित आफ्नै घरको भुँइतलाको कोठाको पंखाको डण्डीमा गम्छाले पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
झुण्डिएको अवस्थामा परिवारले देखेपछि तत्कालै पासो काटी उपचारको लागि हरिवनस्थित सरस्वती अस्पतालमा पुर्याउने बित्तिकै डाक्टरले मृत घोषित गरेको डिएसपी भाटले अनलाइनन्युजलाई जानकारी दिए।
नन्दु इँट्टा भट्टा र काठको मिल सञ्चालन गरी बरहथवा–८ टाडीमा बसोवास गर्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा रहेकाले घटना त्यस्तो शंकास्पद नरहेको प्रहरीले जनाएको छ।
४२ बर्षीय नन्दु अत्यन्तै मिलनसार र सहयोगी रहेको स्थानीयवासीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

