मन्त्री बनाउन माओवादीमा महाभारत, खुमलटार धाउनेले प्रचण्डलाई सोध्छन्– साथ किन दिने?


काठमाडौं– दल विभाजनसम्बन्धी अध्यादेश फिर्तासँगै मन्त्रिपरिषद विस्तारको गति अगाडि बढेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई एकीकृत समाजवादी पार्टीले मन्त्रीको नाम पठाइसकेको छ।

जनता समाजवादी पार्टी (जसपा)ले पनि मन्त्रीको नाम पठाउने तयारी गरेको छ। यसपटक अध्यक्ष उपेन्द्र यादव मन्त्री नबन्ने पक्कापक्की जस्तै छ। प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री नबनाउने भनेपछि यादव मन्त्री पदमा जाने सम्भावना कम छ।

यता, मन्त्रीका लागि भने सबैभन्दा ठूलो सकस नेकपा माओवादी केन्द्रमा छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्री बनाइदिनका लागि आग्रह र अनुरोध लिएर खुमलटार पुग्नेको लाम लागेको छ। कतिपयले प्रचण्डलाई मन्त्री नबनाउने भए दल विभाजनका बेला साथ दिनुको औचित्यबारे पनि सोधेका छन्।

माओवादीले भागमा पाएको ६ वटा मन्त्रालय मध्य २ महत्वपूर्ण मन्त्री बनाइसकेको छ। उसले अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाललाई पठाइसकेको छ। अब, चार वटा मन्त्रालय मात्र भागमा रहेको माओवादीबाट क्लस्टर र नयाँ अनुहार पनि पठाउनुपर्ने बाध्यता रहेको छ, प्रचण्डलाई।

मधेसी, दलित र जनजाती मिलाउनका लागि प्रचण्डलाई सकस परेको छ। खुमलटार स्रोतका अनुसार मन्त्री बन्नका लागि प्रायः सबै सांसद प्रचण्डनिवास पुगेका छन्।

उता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र बर्षमान पुनः खेमाले पनि एक–एक जना मन्त्री राख्नुपर्ने दबाब दिएका छन्।

‘अहिले प्रचण्डलाई मन्त्रिपरिषद विस्तारमा नाम पठाउन कठिन भएको छ, सांसदहरूले मन्त्री नबनाए किन साथ दिनु भनी धम्की समेत दिन थालेका छन्’, स्रोतले भन्यो,‘प्रचण्ड यहि समस्यामा छन्।’

माओवादीमा मन्त्री बन्ने आकांक्षीको दबाबले आफू आतंकित भइसकेको प्रचण्डले यसअघि नै बताइसकेका छन्। एउटा कार्यक्रममा उनले भनेका थिए,‘अहिले मेरो दिमागमा एक प्रकारको आतंक छ, सबैलाई मन्त्री चाहिएको छ। ४९ जना सांसदमा ४९ जनालाई नै चाहिएको छ।’

उनले मन्त्री पद भन्दा पनि पार्टी प्रमुख रहेको भन्दै अहिलेसम्म विभिन्न सरकारमा एक सय जना मन्त्री बनाइसकेको बताएका थिए।

प्रतिक्रिया