७५ बर्षिय ओमबहादुरः जसलाई जंगलबाट ल्याएर नागरिकता दिइयो


म्याग्दी– सानैमा घर छाडेर उपल्लो मुस्ताङ र म्याग्दीका कतिपय ठाउँमा पुगेका ओमबहादुर फगामी ७५ बर्षका भए। पेटमात्र पाल्नका लागि यस ठाउँका चरन क्षेत्रमा ५ दशक बिताएका उनले पहिलो पटक म्याग्दीबाट नागरिकताको प्रमाणपत्र पाएका छन्।

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलाका फगामीलाई लिएर उनका भाई फबहादुर फगानी जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए। प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले चासो दिँदै फगानीबारे सोधीखोजी गरेका थिए।

धुलाम्मे अवस्थामा रहेका उनलाई प्रजिअ अधिकारीले कार्यकक्षमा बोलाएपछि १५ बर्षको उमेरमा घर छाडी जंगल, भेडीगोठ र मानव बस्तीभन्दा टाढा पुगेको अनुभव सुनाए, फगामीले।

भाई फबहादुरले आवश्यक कागजात पुराएपछि फगामीले नागरिकता पाए। उनी हर्षित हुँदै भने,‘सबैले गोठालो भन्थे, बल्ल मैले परिचय पाएँ।’

मुस्ताङबाट आएर उत्तरी म्याग्दीको नारच्याङ र पाउद्वारको बीचको जीर्ण घरमा रहेका फगामीको अनुहारमा छुट्टै हाँसो देखिएको छ। अनुहार खुलेको छ, अब। ‘घरबाट हराएपछि एक पटक भेटिएको थियो, त्यसपछि सम्पर्क थिएन। अहिले भेटेपछि नागरिकताको प्रमाणपत्रसम्म दिलाएका छौं’, फगामीका भाई भन्छन्।

विसं २००७ साल असार २० गते जन्मिएका फगामीले नागरिकता पाएसँगै बृद्धभत्ता, औषधिउपचार खर्च र सामान्य खानाखर्च राज्यबाट पाउने भएका छन्।

कहिल्यै सवारी नचढेका उनी नागरिकता लिनका लागि पहिलो पटक सवारी साधन चढेर सदरमुकाम बेनी पुगेको अनुभव पनि सुनाइरहेका थिए।

प्रतिक्रिया