
सम्पत्तिका लागि महिलाको हत्या, शरीर टुक्राटुक्रा पारेर खोलामा फाल्ने चारजना पक्राउ
काठमाडौं – प्रहरीले झापा जिल्लाको झापा गाउँपालिका–१ माइती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्रामपञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत २५ भदौमा झापाको माइखोलामा घुँडाभन्दा माथि र कम्मरभन्दा मुनिको भाग मात्रै भएको शव फेला परेकामा उक्त शव धोन्नी टुडुको रहेको खुलेको थियो।
टुडुको व्यक्तिगत रिसिइबी र सम्पत्तिका लागि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा मृतकका भाञ्जासहित ४ जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्रामपञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका–१ का ३७ वर्षीय लखन टुडु सतार, ५६ वर्षीय सिरी साइँला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतार रहेका छन्।
ऐतवार सोरेन मृतक महिलाका भाञ्जा हुन् भने पक्राउ परेका लखन टुडु सतार मृतक महिलाका सौताको भाइ रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। उनीहरुले सम्पत्तिका लागि हत्या गरेको खुल्न आएको छ।
अनुसन्धानका क्रममा महिलाको भान्जा र सौताको भाइले २४ भदौमा रातको समयमा महिलालाई माइखोला किनारमा लगि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको र शवलाई टुक्राटुक्रा पारेर खोलामा बगाएको खुल्न आएको झापाका प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले बताए।
एसपी भट्टराईका अनुसार पक्राउ परेका उनीहरुले योजनाबद्ध रूपमा महिलाको हत्या गरेको खुलेको छ। त्यसैगरी घटनाबारे थाहा पाएर पनि प्रहरीलाई जानकारी नदिने सिरी साइँला भन्ने सोमाई हेमरम सतार र हेमरम सतारलाई मतियारको भूमिका खेलेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
शवको पहिचान खुलेसँगै थप अनुसन्धानमा जुटेको प्रहरीले उनको हत्या गरेको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न रहेका चारै जनालाई १ असोजमा पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय झापाबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
‘टुडुलाई हत्या गरेर टुक्रा–टुक्रा पारी खोलामा फालिएको अवस्थामा भेटिएको थियो,’ एसपी भट्टराईले भने, ‘घुँडामाथि र कम्मरमुनिको भाग भेटियो। बाँकीचाहिँ अझै भेटिएको छैन।’ उनको शरीरको अन्य भाग भने अझै नभेटिएको उनले बताए।
घटना भएको स्थान नेपाल–भारत सीमादेखि करिब ३५ मिटर उत्तर मात्र हो।
एसपी भट्टराईका अनुसार घटनाको मुख्य योजनाकार मृतक महिलाका देवर मण्डल हेमरम (सतार) हुन्। उनी भने अझै फरार रहेका छन्। हत्या गरिएकी महिलाको श्रीमानको मृत्यु उनको हत्या हुनुभन्दा १५ दिन पहिले मात्रै भएको थियो।
पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरेर कानुनी कारबाही अगाडी बढाई घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
