

कुलमानविरुद्धको मुद्दाको सुनुवाई आज, आदेश आउने !

काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्द दायर भएको रिटमा आज दोस्रो सुनुवाई हुदैछ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको एकल इजलाशमा यस मुद्दाको सुनुवाई हुन लागेको हो ।
तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको यस मुद्दाको पेशी इजलाशको पहिलो नम्बरमा नै तोकिएकोले आज आदेश आउने सम्भावना छ ।
यस अघि पनि जबरा कै इजलाशमा यस मुद्दाको पहिलो सुनुवाई भएको थियो । पहिलो सुनुवाईमा सर्वोच्चले घिसिङलाई प्राधिकरणमा नियुक्त गर्दाको सक्कल कागजात ३ दिन भित्र पेश गर्न आदेश दिएको थियो ।
प्रधानन्यायधीश चोलेन्द्र सम्शेर जबराको एकल इजलाशले कुलमान कार्यकारी निर्देशकमा नियुक्त भएको, हितेन्द्र देव शाक्य कार्यकारी निर्देशकमा नियुक्त भएको, हितेन्द्र देव शाक्य प्राधिकरणबाट जल तथा उर्जा आयोगमा नियुक्त भएको र प्राधिकरणले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्दा भएका सम्झौताको सक्कल फाइल ३ दिन भित्र पेश गर्न आदेश दिएको थियो ।

