काँग्रेसले टुङ्ग्यायो थप ८ वटा जिल्लाको सदस्यता विवाद


काठमाडौं  –  नेपाली कांग्रेसले थप आठ जिल्लाका क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । क्रियाशील सदस्यताको सूची नटुंगिदा वडा अधिवेशन नै प्रारम्भ नभएको २१ मध्ये ८ जिल्लाको सदस्यता सूची केन्द्रीय निर्वाचन समितिले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

मंगलबार काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएको छ । नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले सर्वसम्मत रुपमा विवाद निरुपण गरेका हुन् ।

‘निर्वाचन समितिमा थप ८ जिल्लाको क्रियाशील सदस्यता प्राप्त भएको छ । प्राप्त सदस्यता सार्वजनिक गरेर कार्यतालिका अनुसार अधिवेशन तयारी अगाडि बढाउँछौं’, निर्वाचन समितिका एक सदस्यले भने ।

वडा अधिवेशन हुन बाँकी जिल्लाहरूमा असोज ५ गते वडा अधिवेशन गरिँदैछ । यसअघि ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेका छन् । वडा अधिवेशन भएकामध्ये डडेल्धुराको अधिवेशनलाई संस्थापन इतर समूहले बहिष्कार गर्दै पुनः अधिवेशनको माग गरेको छ ।

प्रतिक्रिया