एमसीसी सम्झौताविरूद्ध उभिए एमाले सांसद, संसदीय दल बैठकमा कसले के भने?


काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध उभिएका छन्। संसदबाट उक्त सम्झौता पारित गर्ने तयारी भएको अवस्थामा बुधबार बसेको संसदीय दलको बैठकमा बहुमत सांसदले अहिलेको सरकारले एमसीसी सम्झौता सदनमा टेबल गरे कडा प्रतिवादन गर्नुपर्ने धारणा राखेका छन्।

प्रधानमन्त्री रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सदनमा प्रवेश गराउन लागेका थिए। तर, टेबल हुन नसकी नै उनको सरकार गिरेको थियो। एमसीसी सम्झौता हालका प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पालामा अर्थमन्त्री रहेका बेला हालका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए।

चुनाव नजिकिएको र एमसीसीको विरोधमा आम मतदाता रहेका कारण एमाले यस्तो भङ्गालोमा जान नहुने सांसदहरुले जिकिर गरेका छन्। डा. शिवमाया तुम्बाहाम्फेले सरकारमा रहेका बेला दबाब भए पनि अहिले डटेर यसका विरुद्ध उभिनुपर्ने बैठकमा बताइन्।

सांसद सूर्य पाठकका अनुसार एमसीसीविरुद्ध धेरै सांसदको राय मिलेको छ। ‘एमसीसी कुनै हालतमा पास गराउन नहुनेमा संसदीय दलमा चर्चा भयो’, उनलाई उदृत गर्दैै सतहमा समाचारहरू प्रकाशनमा आएका छन्।

सांसद राजबहादुर बुढा, लालबाबु पण्डित, भगवती न्यौपानेलगायतले एमसीसीको विरोध गरेका छन्। एमालेले आज हुने संसद बैठकमा सभामुख अग्नी सापकोटाको कार्यशैलीबारे खरो प्रश्न गर्ने तयारी गरेको छ।

प्रतिक्रिया