

आचार्य र मुख्यसचिव थापाको शालिक शिलान्यास

काठमाडौं – पूर्व प्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्य र पूर्व मुख्यसचिव स्व चन्द्रबहादुर थापाको शालिक शिलान्यास गरिएको छ ।निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलोपटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिएका उनीहरुको शालिक बन्न लागेको हो । सो ऐन विसं २०१३ भदौ २२ गते जारी भएको थियो ।
मुख्यसचिव शङ्करदास वैरागीले गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणधीन निजामती स्मारक क्षेत्रमा आज आयोजित कार्यक्रममा शिलान्यास गरेका हुन् । अगामी एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।
सो अवसरमा मुख्यसचिव वैरागीले चालु आर्थिक वर्षभित्र दुवै शालिक निर्माण सकिने गरी काम गर्न निर्देशन दिए । राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) निर्माणको कार्ययोजना स्वीकृतिको बेलामै मन्त्रिपरिषद्ले कर्मचारीले पदभार ग्रहण गर्नुअघि स्मारकमा माल्यार्पण गर्ने व्यवस्था अर्को वर्षदेखि कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव सुरेश आचार्यले स्मारक क्षेत्रमा निर्माण हुन लागेको युनेस्को ग्रामको अवधारणाले धेरै विषयलाई जोड्ने बताए । वन मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले सामुदायिक वनमा स्मारक निर्माण गरेर पनि वन संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण जगडोल सामुदायिक वनले प्रस्तुत गरेको जानकारी दिए ।
कार्यक्रममा पूर्व मुख्यसचिव थापाका आफन्त डा पार्थिवेश्वर तिमल्सिना, समितिका अध्यक्ष सिग्देललगायतका वक्ताले निजामती इतिहासमा महत्वपूर्ण काम गरेका दुई व्यक्तित्वको शालिक निर्माणले भावी पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्ने बताए । चालु आर्थिक वर्षमै शालिक निर्माण सम्पन्न गरी अर्को वर्षदेखि निजामती सेवा दिवसको मूल कार्यक्रम स्मारक स्थलमै गर्ने लक्ष्य राखिएको जानकारी गराइएको थियो ।
सो अवसरमा स्मारक निर्माण स्थलमा धुपी, कपुर, अमलालगायत जातका ५० बिरुवा पनि रोपिएको थियो । कार्यक्रममा पूर्व मुख्यसचिव थापाले ९० वर्षअघि लेख्नुभएको पुस्तक ‘छोटो रामायण’ को दोस्रो संस्करण विमोचन गरेका थिए । विद्यालय तहका विद्यार्थीलाई रामायणका मुख्य कुरा बुझ्न सजिलो होस् भनी थापाले यो पुस्तक लेख्नुभएको उनका नातिनी विद्या थापा भण्डारीले जानकारी दिइन् ।

