सरकारी टिभीमा श्रम शोषण गर्ने यस्तो काइदा, के भन्छन् महाप्रबन्धक?


काठमाडौं– नेपाल टेलिभिजनको इटहरी क्षेत्रीय प्रशारण केन्द्रमा रहेका कार्यक्रम प्रस्तोतासहित करारमा रहेका समाचार कक्षका कर्मचारीमाथि श्रम शोषण भएको छ।

कार्यक्रम निर्माताका रुपमा रहेका बद्री गौतमले कार्यक्रम प्रस्तोतासहित कतिपयको श्रम शोषण गरेको स्रोतले जनाएको छ। समाचारबाहेक विभिन्न कार्यक्रम चलाएवापत प्रस्तोताले पाउने अतिरिक्त श्रम गौतमले कागज मिलाएर अवैधानिक हिसाबमा शोषण गर्दै आएको समाचार शुत्रले जनाएको छ।

गौतमले कार्यक्रम प्रस्तुत गरेवापत प्रस्तोताले पाउने २ हजार ५ सयसम्मको भत्तामा मनोपोली गर्दै आएका छन्। प्रस्तोताको बैंक खाता वा सिधा नाममा काटिनुपर्ने चेक गौतमले आफ्ना नाममा कटाउने र कार्यक्रम सञ्चालकलाई कम रकम दिने गरेको बताइन्छ।

उक्त विषयको उजुरी र गुनासो स्टेशन म्यानेजरका रुपमा रहेका पुष्पहरी क्याम्पा राईलाई जानकारी भए पनि गौतमविरुद्ध कुनै कदम चालिएको छैन। टेलिभिजनको आन्तरिक अडिटले पनि यसरी गलत ढंगले आफ्ना नाममा चेक काटी रकम खर्च देखाउन नमिल्ने भनी चेतावनी दिएको थियो।

तर नेपाली कांग्रेसको सत्ता रहेको र आफू कांग्रेसी भएको दबाबमा गौतमको मनोपोलीले सीमा नाघेको बताइएको छ।

इटहरी क्षेत्रीय प्रशारणमा कार्यरत करारका कर्मचारीले जागिर जाने डरले उक्त शोषणलाई सहँदै आएका छन्। क्षेत्रीय प्रशारणले स्थानीय स्तरमा विभिन्न कार्यक्रम उत्पादन र प्रशारण गर्दै आएको छ।

गौतमले ति कार्यक्रम चलाउनेमाथि क्षेत्रीय कार्यालयको सेकेन्ड म्यान भएको फाइदा उठाएका छन्। इटहरीस्थित नेपाल टेलिभिजनमा जीवन लिम्बुले आर्थिक बहस, उषाकिरण घिमिरेले प्रदेश डायरी, म सक्छु, प्रदेश प्रसंग कार्यक्रम चलाउँछन्। यस्तै, भूमिका पाख्रिनले स्पोर्टस टाइम्स, राजकुमार खातीले हाम्रो धरान, दुर्गा खड्काले हाम्रो इटहरी र सन्तोष राजवंशीले हाम्रो दुहवी कार्यक्रम चलाउँछन्।

गौतमले विभिन्न कार्यक्रम उत्पादन गर्ने अन्य कर्मचारीमाथि पनि श्रम शोषण गरेका छन्। आन्तरिक कागज मिलाएर डकुमेन्ट्रीलगायत निर्माणको श्रममा पनि गौतमको मनोपोली भएको उजुरी स्टेशन म्यानेजर राईलाई परेको छ। तर, उक्त उजुरी उनले केन्द्रीय कार्यालयसम्म पठाएका छैनन्।

नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले यस्तो प्रकारको श्रम शोषण भएको भन्ने जानकारी आफूसमक्ष नआएको बताए। उनी भन्छन्,‘मकहाँ यस्तो विषयमा उजुरी परेको या अरु केही भएको भन्ने जानकारी आएको छैन, आएको खण्डमा पत्रकारको श्रम शोषण गर्नेमाथि विभागीय कारबाही हुनुपर्छ।’ उनले यस विषयमा खोजीनीति हुने जानकारी दिए।

प्रतिक्रिया