नेपालगन्ज विमानस्थलमा बरामद भएको सुनको अनुसन्धान गर्न समिति गठन


बाँके – नेपालगन्ज विमानस्थलमा शुक्रबार बरामद भएको चार किलो बढि सुनको बारेमा अनुसन्धान गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ।

त्रिभुवन विमानस्थल हुँदै शुक्रबार नेपालगन्ज पुगेको सुनलाई विमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरीले बरामद गरेपछि उक्त सुन काठमाडौँ विमानस्थलबाट कसरी बाहिरियो भन्ने विषयमा छानबिन गर्न त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार समितिमा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षक सदस्य रहेका छन्।

नेपालगन्ज विमानस्थलमा कार्यरत प्रहरीले सुनसहित झापा खुदुनाबारी–६ का २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ्ग लेटाङ्ग–२ का २६ वर्षीय बुद्धिमान खातीलाई शुक्रबार दिउँसो नेपालगन्ज विमानस्थल परिसरबाट पक्राउ गरेको थियो । पक्राउको क्रममा अमिल लगुन विश्वकर्माले लगाएको दाँयारबाँया जुत्तामा रहेको २/२ बिस्कुट सुन र बुद्धिमान खातीले लगाएको जुत्ताको तलुवामा रहेको १/१ पीस बिस्कुट सुन गरी जम्मा ६ थान बिस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) बरामद भएको थियो ।

यसैगरी खातीले बोकेको कालो रंगको झोला जाँच गर्दा तिलहरी १ थान, बाला १ थान र गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन बरामद भएको थियो ।

 

प्रतिक्रिया