आम्दानी कम भएपछि चिडियाखानाका जनावरलाई खाद्यान्न व्यवस्थापन गर्न समस्या


काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिमपछि कारण बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ। तर, आर्थिक आम्दानी कम हुँदा चिडियाखानाका जनावरहरुलाई खद्यान्नको व्यवस्थापन गर्न धौ–धौ परेको छ।

महामारीका कारण मानिसहरु घुम्न ननिस्किनाले चिडियाखानाको आम्दानी घटेको छ। सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो।

वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले करिब आधा आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले बताइन्। उनले २०१५ को शक्तिशाली भूकम्पपछि चिडियाखानामा भौतिक संरचनालाई ध्यान दिइएपनि कोरोनाका कारण आम्दानी बन्द भएपछि अहिले भौतिक संरचनाको काम शून्य बराबर रहेको बताइन्।

उनले पहिलो लकडाउनमा कर्मचारीको आधा पारिश्रमिक काटेर पनि जनावरहरुलाई खानेकुराको जोहो गर्न सहयोग गरेको बताइन्।

‘हाम्रो आम्दानी आधा घटेको छ, पहिलो लहरमा १० महिना बन्द गर्‍यौं। दोस्रो लहरमा साढे २ महिना बन्द गर्‍यौं। आर्थिक स्थिति खासै राम्रो छैन, तर यसलाई मितव्ययी तरिकाले चलाउन प्रयास गरिरहेका छौँ’, सूचना अधिकृत चालिसेले भनिन्, ‘हामीले गत सालको लकडाउनमा त कर्मचारीहरुको आधा स्यालरी काटेर विथआउट फ्यासालिटीमा काम गरेका हौँ। पहिला ७५ जना कर्मचारी रहेकोमा अहिले ५६ जना मात्रै कर्मचारीले काम गरिरहेका छौँ।’

उनले साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरेपनि चिडियाखानाभित्र पूर्ण रुपमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्यका मापदण्डहरु पालना गराइएको बताइन्। कोरोना महामारीको यो बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै सम्झौता नगरेको बताउँदै उनले जनावहरुलाई अहिले पनि अन्तर्राष्ट्रियस्तरकै खाद्यान्न दिइरहेको बताइन्।

उनले विगतमा वार्षिक रुपमा चिडियाखानाको राम्रो दिनहरुमा १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई ख्वाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको बताइन्। तर, अहिले वार्षिक रुपमा ८ करोडको हाराहारीमा पनि आम्दानी नभएको उनको भनाइ छ।चिडियाखानामा स्तनधारी ३६ प्रजातीका २९९, सरिसृप १० प्रजातीका ४८, मत्स्य १५ प्रजातीका ४१, पंक्षी ५२ प्रजातीका ६०९ वटा गरी ११३ प्रजातीका ९९७ वटा वन्यजन्तु रहेका छन्।

प्रतिक्रिया