


अफगानिस्तानका लागि सहयोग गर्न पाकिस्तानको आग्रह

इस्लामावाद – अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानले आग्रह गरेको छ । पाकिस्तानका विदेश मन्त्री साहमोहमद कुरेसीले सो कुरा बताएका हुन् । उनले खासगरी अफगान नागरिकले आफ्नो देशमा बसेर न्युनतम आवश्यकता पाउन सक्ने वातावरण बनाउनु पर्ने बताएका हुन् ।
उनले यस अवस्थाका लागि आवश्यक सहयोग गर्नुपर्ने भन्दै यसका लागि विश्व समुदायसमक्ष जोड दिएका हुन् । विदेशमन्त्री कुरेसीले उनका जर्मन समकक्षी केइको मासले पाकिस्तानले विगत लामो समयदेखि अफगान शरणार्थीलाई आश्रय दिइरहेको बताए।
हाल पाकिस्तान भ्रमणमा रहेका जर्मन विदेशमन्त्री माससँगै पाकिस्तानको राजधानी इस्लामावादमा आज आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
उनले भने, हामीले दशकौँ पहिलादेखि नै अफगानिस्तानका दशौँ लाख शरणार्थीलाई शरण दिइरहेका छौँ र यसका लागि हामीले कसैबाट आवश्यक मात्रामा आर्थिक सहयोग पनि प्राप्त गर्न सकिरहेका छैनौँ ।
यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र इतिहासमा नै यो देश अहिले नयाँ मोडमा उभिएकोले आगामी दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पनि उनले बताए ।
उनले अफगानिस्तानमा यस्तो अवस्था आएको छ कि त्यहाँका नागरिक अहिले मानवीय सहायताको पर्खाइमा छन् र उनीहरुलाई आवश्यक मात्रामा सहयोग गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

