

काबुलमा फेरि श्रृखंलावद्ध रकेट प्रहार, अमेरिकासँग चीनले माग्याे आर्थिक सहयोग

काबुल – अमेरिका आफ्नो सबैभन्दा लामो युद्ध समाप्त गर्न आफगानिस्तानबाट फर्किन हतार गरिरहेका बेला काबुल विमानस्थलमा श्रृखंलावद्ध रकेट प्रहार भएको छ । अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी एन्टी–मिसाइल डिफेनसेसले पाँच वटा रकेटलाई रोकेको अमेरिकी अधिकारीले बताएका छन् ।
रकेट आक्रमणबाट अहिलेसम्म कुनै अमेरिकीको हताहती भएको जानकारी नआएको तर यो सूचना परिवर्तन हुनसक्ने अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । तालिबान र वासिङ्टन मंगलबारसम्म अमेरिकी फौज फिर्ता गर्न सहमत भएका थिए ।
अमेरिका र उसका गठबन्धन फौज अफगानिस्तानमा बाँकी रहेका आफ्ना नागरिक र जोखिममा रहेका अफगान नागरिकलाई समयसीमा सकिनुअघि नै उद्धार गर्न हतार गरिरहेका छन् । गएको बिहीबार आईएस–के ले १३ अमेरिकी सैनिकसहित १७० जनाको ज्यान जाने गरी गरको आत्मघाती बम विस्फोटपछि उद्धार कार्य झनै जरुरी र जोखिमपूर्ण बनेको थियो ।
आत्मघाती आक्रमणको बदलामा अमेरिकाले पनि आईएसमाथि ड्रोन हमला गरेको थियो । ड्रोन हमला गरी आत्मघाती आक्रमणका योजनाकार मारिदिएको र संभावित आक्रमण रोकेको अमेरिकाले दाबी गरेको थियो ।
अफगानिस्तानलाई आर्थिक सहयोग गर्न अमेरिकासँग चीनको माग
चीनले अफगानिस्तानलाई आर्थिक सहयोग उपलब्ध गराउन माग अमेरिकासँग गरेको छ । बेइजिङले मध्य एसियाली राष्ट्रले अस्तव्यस्तताको सामना गर्नुमा आफूले गरेको गल्तीबाट पाठ सिक्न वासिङ्टनलाई गरेको आह्वानलाई दोहो¥याएको छ।
चीनका वरिष्ठ कुटनीतिज्ञले युद्धग्रस्त देशबाट अगस्ट ३१ मा अमेरिकी फौज फिर्ता हुने समयसीमा अगाडि नै अफगानिस्तानका लागि तत्काल सहयोगको आवश्यकता रहेको बताएका छन् ।
अमेरिकी विदेशमन्त्रीले एन्टोनी ब्लिन्कनसँगको आइतबार टेलिफोनमा चिनियाँ विदेशमन्त्री वाङ यीले सबै पक्षहरूले तालिबानसँग संवाद गर्नुपर्ने र अफगानिस्तानमा भएको मूलभूत परिवर्तनको माध्यमबाट पुनरोदय भएको समूहलाई मार्गदर्शन गर्नुपर्ने बताएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
‘नयाँ शासनलाई सरकारी संस्थाहरूका सामान्य काम कारबाही सञ्चालन गर्न, सर्वसाधारणको सुरक्षा र स्थिरता कायम गर्न, मुद्रा स्फिति र मूल्य वृद्धि रोक्न र तत्काल शान्तिपूर्ण बाटोबाट पुनः निर्माणमा संलग्न हुन अफगानिस्तानलाई तत्काल आवश्यक रहेको आर्थिक, जीवनवृति र मानवीय सहयायता उलपब्ध गराउन संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय समुदायँग मिलेर काम गर्नु आवश्यक छ’, वाइ यीले बताएको चिनियाँ विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गएको साता १७० जनाको ज्यान जानेगरी भएको आत्मघाती बम विस्फोटको घटना पछि दुई देशका वरिष्ठ कुटनीतिज्ञले कुराकानी गरेका हुन् । दुई कुटनीतिज्ञबीच अफगान र विदेशी नागरिकहरूलाई सुरक्षित मार्ग र यात्रा गर्न स्वतन्त्रता दिनेलगायत विषयमा तालिबानले गरेका सार्वजनिक प्रतिबद्धताप्रति उसलाई जिम्मेवार बनाउन अन्तर्राष्ट्रिय समुदायको महत्व रहेको विषयमा कुराकानी भएको अमेरिकाले जनाएको छ । पछिल्लो समय अफगानिस्तानमा चिनियाँ चासो बढेको छ। एजेन्सी

