‘एकीकृत शक्ति नेपाल’को केन्द्रीय कार्य समिति घोषणा


काठमाडौं – राजसंस्थासहित हिन्दू धर्म सापेक्ष मुलुक बनाउनुपर्ने मूल एजेन्डासहित सोमबार एकीकृत शक्ति नेपालको घोषणा भएको छ।

एलीस पार्टी प्यालेस नक्सालमा एक विशाल कार्यक्रम गरी उक्त घोषणा गरिएको हो। माता श्री जया शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न शक्तिपिठहरुबाट ल्याइएको माटो र जल मिश्रण गरी टिका लगाई कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

समाजसेवी एवं उद्यमी श्याम पाण्डेले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा एकीकृत शक्ति नेपालका केन्द्रीय कार्यसमितिका महासचिव बीपी तिमिल्सिनाले एकीकृत शक्ति नेपालको गठन प्रक्रिया र अवधारणाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमकै बीच एकीकृत शक्ति नेपालको केन्द्रीय कार्यसमितिको घोषणा गरिएको थियो ।

देवप्रकाश त्रिपाठीको अध्यक्षतामा घोषणा गरिएको कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा डा. रामप्रसाद उप्रेती, उपाध्यक्षमा इन्द्र तामाङ, उज्वल कर्माचार्य, शम्भुमान सिंह, महासचिवमा बि.पि. तिम्सिना, कानुन विभाग प्रमुख सुवास आचार्य, सचिव दुर्गाविक्रम थापा, पदम पाण्डे, लोकबहादुर मोक्तान र उपत्यका समन्वय प्रमुखमा जुलुमरत्न शाक्य रहेका छन् ।

त्यस्तै सदस्यहरुमा निखिल उप्रेती, डा. मनोहरलाल श्रेष्ठ, अक्षता प्रधान, भोजराज अधिकारी, लेखनाथ आचार्य, प्रदीप गुरागाईं, महेन्द्रमान व्यथित, बसुन्धरा रिजाल, भिक्षू आनन्द, रेणु तिम्सिना, गोमा तामाङ, पुष्पा बराल, दिपक सिंह महर्जन, विश्वराज दर्जी, नविन रिसाल, सिताराम अधिकारी, भरत कोइराला, सत्यराम यादव, मुकुन्द झा, नविना थारु, राजेन्द्र रानामगर, माधव भण्डारी, पदम दोङ लामा र सिर्जना पौडेल रहेका छन् ।

कार्यक्रममा एकीकृत शक्ति नेपालको घोषणापत्र कलाकार एवं चिन्तक निखिल उप्रेतीले गरेका थिए । उप्रेतीले मन्तव्यका क्रममा कृष्णाजन्मष्टीको विशेष दिनका दिन एकीकृत शक्ति नेपालको घोषणा गरिएकोले नकारात्मक शक्तिलाई पराजित गर्दै सकारात्मक शक्तिको उदय हुने पनि बताएका थिए ।

कार्यक्रममा नवघोषित कार्यसमितिका अध्यक्ष देवप्रकाश त्रिपाठीले नेपालमा पछिल्लो संविधानले व्यवस्था गरेको संघीय अवधारणाको खारेजको माग गरे । त्रिपाठीले जारी संविधानमा मुख्य गरी व्यवस्था गरिएको प्रदेशको व्यवस्थालाई तुरुन्त खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने समेत बताए । ‘स्थानीय तहलाई सिधै सिंहदरबारसम्म आउनसक्ने व्यवस्था गराउनुपर्छ, सामान्य जनता सिंहदरबार आउन बीचमा ‘एजेन्ट’ मार्फत् आउनुपर्ने बाध्यता खारेज गर्नुपर्छ,’ त्रिपाठीले भने ।

कार्यक्रममा बरिष्ठ उपाध्यक्ष डा. रामप्रसाद उप्रेतीले मन्तव्य राख्दै आफूहरुले देशको परिवेश सामान्य भएपछि देशव्यापी रुपमा विभिन्न कार्यक्रम गर्ने बताएका थिए भने विभिन्न व्यक्तित्वहरुले एकीकृत केन्द्र नेपालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

नक्सालको कार्यक्रम समापनपछि भद्रकाली मन्दिर परिसरमा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले एक–एक थोपा रगत चढाई, अब राष्ट्रको नाममा आफ्नो जीवन समर्पण गर्ने कमस खाँदै सपथ लिएका थिए ।  कार्यक्रममा विभिन्न जात जाति र धर्म संस्कृति झल्किने गरी राष्ट्रिय भावनाले ओतप्रोत सांगीतिक प्रस्तुती पनि दिइएको थियो ।

प्रतिक्रिया