एमालेले सिफारिस गरेका १४ जनालाई कारबाही नहुनेः संसद सचिवालय


काठमाडौं – नेकपा एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गरिरहनुनपर्ने अवस्था नभएको संसद सचिवालयले जनाएको छ । भदौ १ गते एमालेले नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न सचिवालयलाई पत्राचार गरे पनि आइतबार सचिवालयले कारवाही गर्न नपर्ने जनाएकाे छ ।

संसद सचिवालय स्रोतले भन्यो, ‘गत भदौ १ मा पठाएको पत्रमा उल्लेख भएका प्रतिनिधिसभाको सदस्यहरु समेत समावेश भइ सनाखत गरी नेकपा (एकिकृत समाजवादी) नामक नयाँ पार्टी दर्ता भएको मिति ०७८ भदौ ११ मा निर्वाचन आयोगबाट जानकारी प्राप्त हुन आएको सन्दर्भलाई समेत मनन गर्दा एमालेको उक्त पत्रका सन्दर्भमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ दोस्रो संशोधन अध्यादेश २०७८ बमोजिम नै कुनै कारबाही गर्नुपर्ने अवस्था रहेन ।’

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि अनुपस्थित भएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो। एमाले सांसदहरुले तत्काल सूचना टाँस गर्न सभामुखको कार्यकक्षमा पुगेर धर्ना समेत दिएका थिए।

प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले कारवाहीको सूचना दलबाट प्राप्त भएको १५ दिनभित्र टाँस गर्नुपर्ने छ। एमालेले कारवाही गरेका १४ जना सांसद्हरुले हाल नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरेर सरकारमा सामेल हुन लागेका छन्।

तर सभामुख सापकोटाले १३ दिनसम्म सूचना प्रकाशित गरेका थिएनन्। उनले १३ औँ दिनमा नयाँ दल दर्ता भएको स्थितिमा कारबाहीको सूचना टाँस नगर्ने निर्णय लिएका हुन्।

प्रतिक्रिया