

लामो समयसम्म मुख्य उडान गरेको बोइङ ७५७ बिक्री, अमेरिकामा खरिदविक्री सम्झौता

काठमाडाैं – नेपाल वायूसेवा निगमले बोइङ ७५७ विक्री गरेको छ । दुई वर्षअघि अमेरिकाको सिएसविएच कम्पनीसँग विक्री प्रक्रिया शुरु गरेको तीन दिन अघि उक्त जहाजको खरिदविक्री सम्झौता सम्पन्न गरिएको निगमका कार्यकारी निर्देशक डिमप्रसाद पौडेलले जानकारी दिए।
५७ लाख अमेरिकी डलर (६७ करोड ३७ लाख ४० हजार रुपियाँ) मुल्यमा विक्री प्रक्रिया थालिएको त्यसका लागि अमेरिकानै पुगेर खरिदविक्री सम्झौता सम्पन्न गरिएसँगै बोइङको विक्री सुनिश्चित भएको पौडेलले जानकारी दिए। उक्त ७५७ बोइङ तात्कालिन शाही नेपाल वायूसेवा निगमले सन् १९८७ मा खरिद गरेको गरेको थियो ।
पुरानो जहाज भएको भन्दै आइक्यानले ७५७ बोइङ जहाजलाई सन् २०१८ मा उडान बन्द गराएपछि निगमले विक्री गरेको जनाएको छ । १९० सीट क्षमताको यो जहाजले निगममा लामो समयसम्म मुख्य उडान गरेको थियो ।
निगमले सन् १९९३ मा खरिद गरेको ७२७ बोइङ पनि यस अघि गैह्रआवासीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टलाई विक्री गरेको थियो । विक्री गरिएका दुवै जहाज हाल त्रिभुवन विमानस्थलको पुर्वतर्फको पार्किङमा राखिएको छ ।
सन् १९५८ मा २८ सीट क्षमताको डाकोटा जहाजबाट सेवा विस्तार गरेको निगमले हाल ५० बर्ष अघि सन् १९७१ मा क्यानाडाबाट खरिद गरिएको १९ सीट क्षमताको ट्वीनटर जहाज र सन् २०१५ र २०१८ मा खरिद गरिएको एयरबस ३२० र ३३० जहाजबाट सेवा दिदैआएको छ । हाल निगमले २४ गन्तव्यमा आन्तरिक र नौ वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दैआएको छ ।
वाइडबडीले नियमित उडान भर्दै
प्राविधिक रुपमा गडबडी आएपछि मर्मतका लागि मलेसिया पठाइएको वाइडबडी ३३० जहाज मर्मत सम्पन्न गरी काठमाडौं ल्याइएको निगमले जनाएको छ ।
वाइडबडीले अव नियमीत उडान भर्ने तयारी शुरु गरेको निगमका कार्यकारी निर्देशक डिमप्रसाद पौडेलले जानकारी दिए । जहाज मर्मत सम्भारका लागि मलेसियन कम्पनीलाई छनौट गरेसँगै वाइडबडी मर्मत गर्न त्यसतर्फ लगिएको उनले बताए ।

