मन्त्रिपरिषद विस्तारका लागि देउवा, प्रचण्ड र नेपालबीच वार्ता, गृहमा एकीकृतबाट कसको चर्चा छ?  


काठमाडौं– मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग वार्ता गरेका छन्।

सरकारी निवास बालुवाटारमा भएको वार्तामा मन्त्रिपरिषद विस्तारको विषयमा सहमति बनाउन लागिएको छ। एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको मन्त्रालयको संख्या टुङ्ग्याउन लागिएको हो।

एकीकृत समाजवादीले ६ वटा मन्त्रालय र दुई वटा राज्य मन्त्री दाबी गरेको छ। तर प्रधानमन्त्री देउवा दुई राज्यमन्त्रीसहित ६ वटा मात्र दिन तयार रहेका छन्। कांग्रेसले ९ मन्त्रालयमा दाबी गरेको छ भने माओवादी ८ वा ७ मन्त्रालय लिन राजी भएको छ।

जसपाले पनि ६ मन्त्रालयमा दाबी गरेपछि सत्ता गठबन्धनमा मन्त्री टुंगो लगाउने विषयमा तनाव भएको छ। माओवादीले ७ मात्रै मन्त्री लिँदा पनि २८ मन्त्रालय खपत हुने देखिन्छ। यद्यपि, सहमतिको प्रयत्न जारी रहेको बताइएको छ।

कांग्रेसले यसअघि नै प्रधानमन्त्रीसहित गृहमा बालकृष्ण खाँण, कानुनमा ज्ञानेन्द्र कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई जिम्मेवारी दिइसकेको छ भने माओवादीले अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाललाई पठाएको छ।

एकीकृत समाजवादीले गृहमा दाबी गरेपछि कांग्रेसले अर्थ मन्त्रालय आफूले राख्न पाउनुपर्ने अडान कायम राखेको छ। तर माओवादीले भने मन्त्री पठाइसकेका कारण अर्थ नछाड्ने जनाएको छ।

जसको नेतृत्वमा सरकारमा गए पनि समाजवादी नेत्री रामकुमारी झाँक्रीले गृहमा दाबी गरेको बताइन्छ। तर नेता नेपालले उनलाई भौतिक योजना मन्त्रालयमा पठाउने तयारी गरेको स्रोतको दाबी छ।

माओवादीबाट भने मन्त्रीका आकांक्षी धेरै भएका कारण प्रचण्डले नयाँ अनुहारलाई पठाउने तयारी गरेका छन्। मन्त्रालयको टुंगो लागेपछि मन्त्रीको नाम फाइनल हुनेछ।

प्रतिक्रिया