

२४ बैठकसँगै अन्त्य भयो बागमती प्रदेशसभाको आठौं अधिवेशन

मकवानपुर – बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो ।
गत जेठ १६ गतेदेखि संचालनमा आएको प्रदेशसभाको आठौं अधिवेशनले प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । आठौं अधिवेशनमा कुल २४ वटा बैठक बसेको थियो । बैठकले प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको थियो ।
त्यस्तै प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ भने प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ ।
भदौ २ गते शून्य समय र विषेश समयमा सांसदहरुले धारणा राखे लगत्तै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । सोही दिन बागमती प्रदेशको सरकार पनि परिवर्तन भएको थियो ।

