

काबुल विमानस्थलमा विस्फोट ९०० नेपाली स्वदेश फर्किए, ४२ जना विमानस्थल नजिक

काठमाडौं – अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका छन् ।
थप २०० जना अफगानिस्तानबाट उद्धार भई दोहा, लण्डन र नयाँ दिल्ली ल्याएइको छ । पछिल्लोपटक बिहीबार ११ जना नेपालीहरु काबुलबाट उद्धार भई नयाँ दिल्ली आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी अफगानिस्तानका विभिन्न स्थानबाट उद्धार गरी ४२ जना नेपाली नागरिकलाई काबुल विमानस्थल नजिक ल्याएर राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरु सबैजना सुरक्षित रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
साथै काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिकसमेत रहेका छन् । १३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर मृत्यु भएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।
विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ। काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो।
जिहादी समूहले आफूले विस्फोट गराएको दाबी गरेको छ । यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । उनीहरुले आक्रमणको जोखिम रहेकाले विमानस्थलबाट परै बस्न आह्वान गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ । बीबीसी

