

लाइसेन्सका लागि परीक्षा सुरु हुँदै, नयाँ आवेदन कहिले खुल्ने ?

काठमाडाैं – कोरोनाभाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्ने तयारी यातायात व्यवस्था विभागले अघि बढाएको छ।
विभागले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरेको छ। विभागका सूचना अधिकारी लोकनाथ भुसालले आवेदन दिएकाहरूले अबको १० देखि १५ दिनमा परीक्षा दिन पाउने जानकारी दिएका छन्।
पछिल्लो परिस्थिति हेर्दा हामी न्यू नर्मलुमा बाँच्नुपर्ने स्थिति आयो। त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्ड स्वीकृत गरेर सबै यातायात कार्यालयहरूलाई यथाशीघ्र परीक्षा सुरु गर्न र त्यसको सात दिनअघि नै सूचना जारी गर्न बिहवार पत्राचार गरेका छौँ, उनले भने।
सबै ठाउँमा सातै दिनमा नखुले पनि १० देखि १५ दिनमा यो खुल्नुपर्छ। विभागले डेढ महिनाअघि नै परीक्षा सञ्चालन गर्ने गृहकार्य अघि बढाएको भए पनि सबै किसिमका परीक्षा सञ्चालन गर्नमा रोक लगाइएको अवस्थामा त्यो अघि बढ्न सकेको थिएन।
देशभरिका २१ वटा यातायात कार्यालयबाट छ लाखको परीक्षा सञ्चालन गर्नका लागि चारदेखि पाँच महिना लाग्न सक्ने विभागको अनुमान छ। झन्डै छ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा विभागले नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम रहेको अधिकारीहरू बताउँछन्। उक्त सङ्ख्याको आधाजसोले परीक्षा दिइसकेपछि नयाँ आवेदन खुलाउन सकिने भुसालको भनाइ छ। बीबीसी

