

अविरल वर्षाले बेगनास सिँचाइको नहरमा क्षति

गण्डकी – अविरल वर्षाका कारण बेगनास सिँचाइ प्रणालीको पोखरा महानगरपालिका–३२ स्थित भुनभुनेको नहरमा क्षति पुगेको छ । अत्यधिक परेको पानीसँगै नहर कटान हुँदा करीब १ हजार ५०० हेक्टरमा लगाइएको धानखेत प्रत्यक्ष प्रभावित बनेको छ ।
सोमवार साँझदेखिको वर्षाले बेगनास सिँचाइ प्रणाली अन्तर्गतको बी–४ र र बी–३ नहर क्षेत्रको भुनभुनेमा करीब १५० मिटर नहर बाँध फुट्दा १ करोडभन्दा बढीको मर्मत खर्च लाग्ने देखिएको बी–४ शाखाका अध्यक्ष देवीलाल तिवारीले जानकारी दिए । उनका अनुसार नहरमा भएको क्षतिले यस क्षेत्रका ४५० भन्दा बढी कृषक उपभोक्ता मर्कामा परेका छन् ।
करीब १५ सय हेक्टरमा लगाइएको धानबाली सुक्खा हुने भएकाले शाखा–४ र शाखा–३ सिँचाइ अन्तर्गतको नहरको बाँधले उच्च बहाव थेग्न नसकी फुटेर खुदीखोलामा मिसिन गएका कारण मालमूल, सातमुहाने, झौरी, ४०० फाँट, खोलाको छेउ, खुदीखोला र राजाको चौतारा लगायतका फाँटमा लगाइएको धानखेत सुक्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन् ।
अस्थायीरूपमा नै भए पनि नहर तत्कालै बनाउन र खेतमा पानी पुर्याउन आवश्यक रहेकाले सिँचाइ कार्यालयबाट अस्थायी नहर बनाएर सिँचाइ गर्न आवश्यक रहेको शाखाका सदस्य बुद्धिसागर खनालले बताए ।

