

नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो : माधव नेपाल

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि बिहीबार पहिलो पटक पत्रकार सम्मेलन गरेका छन् ।
पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले बाध्यताबस नयाँ पार्टी गठन गरेको बताएका छन् । नेपालले ओलीले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा भासिएकाले नयाँ पार्टी खोल्नु परेको प्रस्टीकरण दिएका छन् ।
नेकपा एमालेलाई दक्षिणपन्थी भासमा फसाउँदै लगेको, मार्क्सवादी मूल्य मान्यतालाई तिलाञ्जली दिएको तथा पार्टीका क्रान्तिकारीहरुलाई निष्कासन गर्दै गएपछि बाटो फेर्न बाध्यता भएको बताए
‘नयाँ पार्टी खोल्नु हाम्रो बाध्यता हो । केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भासमा पारेपछि, सवै खालका मार्क्सवादी मूल्य मान्यतालाई छोडेपछि र क्रान्तिकारीलाई पार्टीबाट निष्कासन गरेपछि त्यसका विरुद्ध विद्रोह गर्ने बाहेक विकल्प भएन’ नेता नेपालले भने, ‘पार्टी शिथिल मात्रै होइन, मृत प्रायः भयो ।’ यो सबै अवस्था देखेपछि हामी नयाँ ढंगले जाने संकल्प गरेको बताए ।
आफ्नो पार्टीमा देशभरका क्रान्तिकारी नेता कार्यकर्ता रहेको भन्दै ओलीबाट पीडित भएकाहरु आफ्नो पार्टीमा त्यस्ता कार्यकर्ता आउने क्रम जारी रहेको दावी समेत गरे ।
‘हामीसँग पार्टीलाई क्रान्तिकारी दिशामा लैजाने क्रान्तिकारी कार्यकर्ता छन् । ओलीबाट पीडित भएकाहरु हिमाल तराईका कार्यकर्ता, विभिन्न तहका कार्यकर्ताको पंक्तिले ओलीको समूहबाट विद्रोह गरेर समाजवादीमा समाहित भएको घोषणा गरिरहेका छन्’ नेता नेपालको भनाई छ ।
उनले ओली अग्रगमनका बाधक र प्रतिगमनका बाहक रहेको निष्कर्षपछि आफुले काँग्रेस, माओवादी, जसपासँग कुरा गरेर नयाँ मोर्चा बनाएर उनलाई फाल्न सफल भएको बताए ।

