

कांग्रेस महाधिवेशनः यसकारण तीनै नेता ‘त्रिशंकु’ जस्ता छन्

काठमाडौं– महाधिवेशनको चहलपहल सुरु हुनासाथ सभापतिका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसमा धक्का दिन सक्ने गरी एउटा गठजोड बनाए।
‘तीन युवराज’ अथवा ‘राजकुमार’ भनी व्याख्या गरिएका निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको गठजोडले धक्का दियो।
विभिन्न चरणमा कहिले निधि निवास, कहिले कोइराला निवास त कहिले चाक्सीबारीमा भएका भेट र बैठकमा उनीहरूको स्वर थियो– नयाँ पुस्ताको नेतृत्वमा कांग्रेस यस पटक अगाडि बढ्छ। तर तीनै नेताको सभापतिमा दाबी पनि छ।
प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई १४ औं महाधिवेशनमा सभापतिको दाबेदारीलाई फिर्ता गराउनका लागि निधिको यो गठजोड बनेको बताइन्छ। तर, गठजोडका तीनै जनाले सभापतिका लागि घोषणा गर्नुचाहिँ ‘त्रिशंकु’ जस्तो देखिएको छ। तीन जना मध्ये एक जना सभापतिमा उठेर सहयोग गरेको खण्डमा देउवालाई धक्का लाग्ने देखिए पनि सतहमा आएका दाबी र घोषणाले गठजोड नै ‘त्रिशंकु’ हुने अनुमान गरिएको छ।
निधि मात्र होइन कोइराला र सिंहले पनि सभापतिमा दाबेदारी प्रस्तुत गरेका छन्। जसले जित्ने स्पष्ट आधारका लागि कांग्रेसभित्र बलियो सांगठनिक उपस्थिति चाहिन्छ।
निधि सभापतिमा जित्नका लागि देउवाको अनिवार्य सहयोगको खाँचो हुने देखिन्छ। उनी निरन्तर हालको संस्थापन पक्षमा रहेका कारण इतर समूहले विश्वास गर्ने आधार देखिँदैन। एक जना कांग्रेस नेता भन्छन्,‘जिल्ला तहसम्मको सांगठनिक संरचना हेर्दा देउवा र रामचन्द्र पौडेलकै मात्र पकड रहेको देखिन्छ।’
स्वभाविक रुपमा पनि हालै भएका जिल्ला सभापतिहरुको फरक–फरक बैठकमा यस्तो दृश्य देखिएको थियो। पौडेलले गरेको बैठकमा ४७ जिल्ला सभापतिहरु सहभागी थिए भने बाँकी देउवा पक्षमा थिए।
पौडेलले पनि सभापतिमा दाबी गरिरहेका कारण कोइराला र सिंहको घोषणाले मात्र नपुग्ने कतिपयको बुझाई छ। अझ पौडेलकै खेमामा रहेका डा. शेखर कोइराला पनि सभापतिको अभ्यासमा सक्रिय रहेका छन्। उनी फरक अनि तेस्रो पुस्तासम्मको प्यानलका रुपमा खडा हुने विचारमा छन्।
महाधिवेशनमा सभापतिमा उठिसकेका तर यसपटक त्यति धेरै दाबी नगरेका कृष्ण सिटौलाले पनि धेरथोर प्रभाव पार्न सक्ने देखिँदा निधि, शशांक र सिंहको गठजोड नै भए पनि त्यसको औचित्य स्थापित हुन कठिन रहेको कतिपयको बुझाई छ।

