अफगानिस्तानबाट थप १६५ नेपालीको उद्दार, उद्दार क्रम जारी


काठमाडौं – अफगानिस्तानबाट थप १६५ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट १६५ जनालाई स्वदेश ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कूल ४६१ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्दार भई काठमाडौं आइपुगेका छन् ।

विभिन्न कूटनीतिक नियोग तथा अतिरिक्त अनौपचारिक क्षेत्रमा काम कार्यरत नेपालीहरूलाई उद्दार गरिएको हो । साथै, थप नौजना नियमित उडानबाट काठमाडौं आउने क्रममा रहेको मन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपाल फिर्तिपश्चात सिसिएमसीको समन्वयमा उनीहरूलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोभिड-१९ को परीक्षणलगायतका प्रक्रिया पूरागरी आवश्यक व्यवस्थापन गरिएको छ ।

शुक्रबार साँझसम्म कन्सुलर सेवा विभागको वेब पोर्टलमा ३१० अफगानिस्तानमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गरेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, मन्त्रालयले अफगानिस्तानमा रहेका अन्य नेपालीको उद्दारका लागि राजधानी काबुलबाट उद्दार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

अफगानिस्तानमा तालिवानले विद्रोहमार्फत् सत्ता कब्जा गरेपछि त्यहाँ बस्ने नेपालीको सुरक्षाका लागि उद्दार कार्य गर्न मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

प्रतिक्रिया