

दुई महिनापछि आंशिक सञ्चालनमा आयो कोदारी राजमार्ग

तातोपानी – गत असार १ गते आएको बाढीले क्षतविक्षत बनाएको कोदारी राजमार्ग आंशिक रुपमा सञ्चालनमा आएको छ । बाढी र पहिरोले कटान गरेको सडक पुनः मर्मतपछि सञ्चालनमा आएको हो ।
बाढीले लिपिङ पुल भत्काएको थियो भने ठाउँठाउँमा तलबाट भोटेकोशी नदिले कटान गर्ने र माथिबाट पहिरो आएर सडक पुरिने भइरहेको थियो । लिपिङ पुल अझै पनि निर्माणाधिन अवस्थामा रहेको सडक डिभिजन कार्यालय दोलखाले जनाएको छ । लिपिङपुलको दुवैपट्टि जगमा ढुंगा भरेर जालीगाह्रो उठाइएको छ । सडक पूर्ण रुपमा आउन दुइ सातासम्म लाग्ने अनुमान गरिएको छ ।
महिना दिनदेखि सडक खुलाउन लागेको बताउँदै कार्यालयका इन्जिनियर विजय महतोले करिब १५ दिनभित्र राजमार्ग पूर्ण सञ्चालनमा आउने बताए । नेपाली चाडपर्व दशैँ–तिहार नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामानको सहज आयातका लागि पनि तातोपानी नाका सुचारु गरिनुपर्ने आवश्यकता छ। सडककै कारणले तातोपानी नाका अवरुद्ध नहोस् भन्नेमा सडक डिभिजन सचेत रहेको महतोले प्रस्ट्याए।
चीन जोड्ने अरनिको राजमार्ग बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर कोदारी खण्डबारे तातोपानी भन्सार, स्थानीय सरकार र व्यापारी वर्गले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। एक साताअघि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर तातोपानी नाका पूर्ण सञ्चालनका लागि चीन सरकारसँग कुराकानी गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

