

तालिबान शासनको ‘खतरनाक’ संकेत: अल्पसंख्यक हजारा समुदायका नौं जनाको हत्या

काबुल – मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले अफगानिस्तानमा अल्पसंख्यक शिया हजारा समुदायको नरसंहार भएको दाबी गरेको छ । एम्नेस्टी इन्टरनेसनलले एक प्रतिवेदनमार्फत हालै तालिबानले गजनी प्रान्तमा हजारा समुदायका मानिसहरूको हत्या गरेको जनाएको छ ।
बिहीबार प्रकाशित प्रतिवेदनमा गजनी प्रान्तको मालिस्तानमा गत जुलाई ४ र ६ तारिखको अवधिमा हजारा समुदायका नौं पुरुषको हत्या भएको उल्लेख छ । तालिबानले गत आइतबार काबुल नियन्त्रणमा लिएको थियो ।
एम्नेस्टीले गजनी प्रान्तमा भएको घटना तालिबान शासनको ‘खतरनाक संकेत’ भनेको छ । बीबीसीका अनुसार हजार अफगानिस्तानको तेस्रो ठूलो नस्लीय समूह हो । शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायमाथि सुन्नी बहुल अफगानिस्तान र पाकिस्तानमा दशकौंदेखि शोषण हुँदै आएको छ । एजेन्सी

