झण्डै साढे तीन दशकपछि पुनः तीन सन्तान जन्माउन पाउने चिनियाँ नीति

आर्थिक भार सरकारले व्यहोर्ने


काठमाडौं – चिनियाँ नागरिकले अबदेखि तीन सन्तान जन्माउन पाउने भएका छन्। शुक्रबार तीन सन्तान जन्माउन पाउने नीति त्यहाँको संसदबाट पारित भएको छ ।

संशोधन गरिएको जनसंख्या तथा परिवार नियोजन कानूनलाई नेसनल पिपुल्स काँग्रेसको स्थायी कमिटिले पारित गरेको हो। पछिल्लो समय चीनले आफ्नो जनसंख्या घटेको भन्दै तीन सन्तानको नीति लिने निर्णय गरेको थियो।

तर, बच्चा हुर्काउनका लागि महंगो हुने र खर्च धान्न गाह्रो हुने गुनासो आएको थियो । पारित भएको नयाँ नीतिमा चिनियाँ सरकारले अभिभावकलाई बच्चा हुर्काउका लागि आर्थिक सहायता दिने भएको छ। जसमा कर, शिक्षा, आवास र रोजगारीमा सहयोग गर्ने जनाइएको छ।

सामाजिक र आर्थिक विकासक्रममा घट्दो जनसंख्याका कारण हुने चुनौतीको सामना गर्न सन्तुलित तथा दीर्घकालिन जनसंख्या वृद्धिका लागि कानून संशोधन गरिएको जनाइएको छ।

गत मे महिनामा चीन कम्युनिष्ट पार्टीले तीन सन्तान जन्माउनका लागि अनुमति दिएको थियो। चिनियाँ संसदले यही अनुमतिलाई सर्वसम्मतले पारित गरेको हो।

यसअघि चीनले सन् २०१६ मा एक सन्तानको नीतिलाई खारेज गरेर दुई सन्तानको नीति अंगालेको थियो। चीनले १९८० मा लागू गरेको एक सन्तान नीति करिब साढे तीन दशकसम्म चल्यो।

प्रतिक्रिया