
अनामनगरको हनुमानस्थानमा ‘खुल्ला पुस्तकालय’
काठमाडौं – अनामनगरको हनुमानस्थानमा खुल्ला पुस्तकालय सञ्चालनमा आएको छ ।
पेशासँगै सामाजिक कार्यलाई सँगै अगाडि बढाउँदै गइरहेका किरण आर्टस्का सञ्चालक किरण मगरले व्यावसाय गर्दै आइरहेको स्थानको एक भागमा खुल्ला पुस्तकालयलाई सञ्चालनमा ल्याएका हुन् ।
हनुमानथानस्थित महानगरले बनाएको पार्कसँगै व्यावसाय सञ्चालन गर्दै आएका किरणले पत्रकार नारायण तिवारीले उपलब्ध गराएका पुस्तकहरुलाई एकत्रीत बनाएर पुस्तकालयको स्वरुप दिएका छन् ।
तीन दशक पत्रकारिता क्षेत्रमा बिताएका पत्रकार तिवारीले समाजलाई थप सचेत बनाउनका लागि आफूसँग भएका किताबहरुलाई सबै पाठकहरुले पढ्न पाउन् भन्ने अभिप्रायःसहित पुस्तकालय सञ्चालनमा सहकार्य गरेको बताए ।
उक्त पुस्तकालयमा जाने जो कोहीले निःशुल्क रुपमा पुस्तक पढ्न पाउने पुस्तकालयका संरक्षक किरणले बताए । साथै तिवारीले जस्तै अन्य पुस्तक दाताहरुले पनि खुला हृदयले पुस्तक उपलब्ध गराउन चाहेमा स्वागत गरिने मगरले जनाए ।
सिद्धहस्तका धनी एवं नेपालको हरेक क्षेत्रमा दख्खल राख्ने मगरले आफ्नो व्यावसाय सञ्चालन गरिरहेको स्थानमा सञ्चालनमा ल्याएको पुस्तकालयको शुभारम्भ प्रेस काउन्सिलका सदस्य नकुल अर्याल, श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी, उपत्यका प्रदेश पत्रकार महासंघका अध्यक्ष टेनिस रोका, पत्रकार नारायण तिवारीलगायतको उपस्थितिमा आइतबार गरिएको थियो ।
साथै उक्त अवसरमा अन्य युवा पत्रकारहरुको पनि उपस्थिति रहेको थियो ।



कागजपत्र |
