

दाउरा निकाल्ने क्रममा भेलले बगाएकी महिलाको आठ किलोमिटर तलबाट सकुशल उद्धार

दाङ – देउखुरीमा राप्ती नदीको भेलले बगाएकी एक महिलाको आठ किलोमिटर तलबाट सकुशल उद्धार गरिएको छ । दाङ देउखुरीको गढवा गाउँपालिका–३ गोबरडिहाकी ४० वर्षीया टेकरानी चौधरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गए राति राप्ती नदीबाट उद्धार गरेको हो ।
बिहीबार दिउँसो गोबरडिहको राप्ती घाटमा दाउरा निकाल्ने क्रममा चौधरीलाई नदीको भेलले बगाएको हो । टेकरानीले नदीको वेग तीव्र भएका कारण निस्कन नसकेको र पानीको वहाब भएतिरै बग्दै गएको बताइन् । ‘झण्डै आठ किलोमिटर बगेपछि पानीको छालले किनारा लगायो । तर आफू कहाँ पुगेको पत्तो पाइनँ । राप्तीको टापुमा खर समोतर अडिएँ । पानीबाट बाहिए निस्किएँ । चारैतिर हेरें, अनि गुहार मागें’ उनले भनिन् ।
राप्ती वारि लमही नगरपालिका–४ को बुटकहावा गाउँका स्थानीय तरकारी टिप्न लागेका थिए । उनीहरुले टेकरानीले गुहार मागेको सुनेर प्रहरीलाई खबर गरे । राप्ती नदीमा मान्छे फसेको खबर पाए लगत्तै वडा प्रहरी कार्यालय लमहीबाट प्रहरी नायब निरीक्षक पुराण मल्ल, विष्णु केसीलगायतको टोली घटनास्थल पुगेको थियो ।
झण्डै ४ घण्टा राप्ती नदीको बीच टापुमा फसेकी टेकरानी कराएको सुनेर वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक विष्णु केसी र प्रहरी जवान प्रकाश चौधरी नदीमा हामफालेका थिए ।
सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल नपुग्दासम्म टेकरानी भएको ठाउँमा पुगेर उनलाई सान्त्वना दिइएको प्रहरी नायब निरीक्षक केसीले बताएका छन् । अहिले टेकरानीको लमही अस्पतालमा प्राथमिक उपचार भइरहेको छ ।

